भक्तपुर । नेपाल इन्जिनियरिङ्ग कलेज (नेक) भक्तपुरको प्राचार्यमा प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन । कलेज सञ्चालन समितिको श्रावण १४ गते बसेको २९ औं बैठकले उक्त निर्णय गरेको हो ।
कलेजको स्थापनाकालदेखि नै नेकमा आबद्ध भण्डारी यसभन्दा पहिला कार्यवाहक प्राचार्यको भूमिका निभाइ सकेका ब्यक्ति हुन।
प्राचार्य भण्डारीले स्थापना कालदेखि नै कलेजको विकासका निमित्त मिहेनत गरेको र उनी कार्यबाहक प्राचार्य रहेको समयमा इन्मान्दार र लगनशील भएको कारण भण्डारीलाई नै प्राचार्यमा नियुक्त गरिएको चागुनारायण नगरपालिकाका प्रमुख तथा नेपाल इन्जिनियरिङ्ग कलेज संचालक समितिका अध्यक्ष जीवन खत्रीले जानकारी दिए।
कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजलाई चागुनारायण नगरपालिका भित्र ल्याउन आफू लगायतका ब्यक्तिहरुको ठुलो योगदान रहेको स्मरण गर्दै यो कलेजले निरन्तर रुपमा चागुनारायणको गरिमाको रुपमा कार्य गर्दै आइरहेको कुरामा जोड दिदै कलेजको आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको जानकारी दिए ।
त्यस्तै आजै प्राचार्य भण्डारीको अध्यक्षतामा बसेको दैनिक कार्य सञ्चालन समितिको बैठकले कलेजमा (इनोभेसन एण्ड कम्युनिटी म्यानेजमेन्ट) विषयको नयाँ कोर्ष ल्याउने निर्णय गर्नुका साथै प्रस्ताव गरेको नयाँ कोर्ष तयार पार्नका लागि कार्यविधि बनाउन कलेजका विभागीय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन।
नेपाल इन्जिनियरिङ्ग कलेजमा हाल ६ संकायमा करिब १ हजार ६०० विद्यार्थी अध्यनरत छन् ।