स्वास्थ्य, ऊर्जा र जीवनका मूल स्रोत खाना र पानी हुन् । शरीरलाई काम गर्न चाहिने ऊर्जा खानाबाट प्राप्त हुन्छ । खानामा प्रोटिन, भिटामिन, खनिज जस्ता पोषक तत्त्व हुन्छन् । यी तत्त्वले शरीरका कोषहरू बनाउन र शारीरिक वृद्धि गर्न सहयोग गर्छन् । पानी त झन् जीवनको बाँच्ने आधार नै हो । पाचन प्रणाली सुचारु गर्न, रक्त सञ्चालन ठिक राख्न, शरीरको तापक्रम नियन्त्रण गर्न, पोषक तत्त्व र अक्सिजन कोषिकासम्म पुर्याउन पानी नभई हुँदैन ।
खाना शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने साधन हो । पानी शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने माध्यम पनि हो । पानीलगायतका पेय पदार्थ र फलफूललगायतका खानेकुरा खाने समय र तरिका मिलेन भने खाना र पानी नै जीवनका लागि अभिशाप बन्न सक्छन् ।
पानी पिउने समय र तरिका
(क) बिहान उठ्ने बित्तिकै खाली पेटमा एकदुई गिलास मनतातो पानी पिउनुपर्छ ।
(ख) खाना खानुभन्दा ३० मिनेट अगि र खानाको १ घण्टापछि मात्र पानी पिउनुपर्छ ।
(ग) गर्मी मौसम र शारीरिक व्यायाम गर्दा शरीरबाट निस्किएको पानीको मात्रा पूरा गर्न पानी पिउनुपर्छ ।
(घ) सुत्नुभन्दा ३० मिनेटअगि पानी पिउनु उत्तम हुन्छ ।
(ङ) उभिएर पानी पिउँदा मिर्गौलामा असर पर्न सक्ने भएकाले बसी बसी पिउनु राम्रो हुन्छ ।
(च) धेरै भोको हुँदा वा धेरै खाएर तुरुन्त पानी पिउनुहुँदैन ।
(छ) तिर्खा लागेपछि मात्र होइन, एकदुई घण्टाको अन्तरालमा नियमित पानी पिउनुपर्छ ।
पेय पदार्थ खाने समय र तरिका
(क) चिया, कफी सकेसम्म पिउनुहुँदैन । यदि पिउनुपर्ने अवस्था आए धेरै चिनी नहाली बिहान नास्तापछि वा खाना खाएको कम्तीमा १ घण्टापछि पिउनु उपयुक्त हुन्छ ।
(ख) फलफूलको रस बिहान वा दिउँसो पिउनु उपयुक्त हुन्छ ।
(ग) लस्सी र दहीजन्य पेय पदार्थ तातो मौसममा पिउनु उपयुक्त हुन्छ ।
(घ) अत्यधिक नुन वा मसला नहालेको सुप खाना खानुभन्दा ३० मिनेटअगि पिउँदा उपयुक्त हुन्छ ।
(ङ) चिसो पेय पदार्थ सकेसम्म पिउनुहुँदैन । यदि पिउनुपर्ने अवस्था आए खाली पेटमा वा खाना खाइसकेपछि तुरुन्त पिउनुहुँदैन ।
खाना खाने समय र तरिका
(क) बिहान नास्ता, दिउँसो खाना, साँझमा हल्का नास्ता र राती सुत्नुभन्दा कम्तीमा २ घण्टा अगाडि खाना खानु उपयुक्त हुन्छ ।
(ख) खानेकुरा राम्ररी चबाएर मात्र खानुपर्छ ।
(ग) मोबाइल, टिभी हेर्दै वा हतार गरेर खानेकुरा खानुहुँदैन ।
(घ) पेटमा बढीमा ८० प्रतिशत मात्र भरिने गरी खाना खानुपर्छ ।
(ङ) अनाज, तरकारी, दाल, फलफूल, दुध, पानी जस्ता तत्त्वको सन्तुलन मिलाएर खानुपर्छ ।
(च) चिसो र बासी खाना खानुहुँदैन ।
फलफूल खाने तरिका र समय
(क) बिहान खाली पेटमा, खानाको १ घण्टा अगाडि, खानाको २ घण्टा पछाडि, नास्ताको रूपमा दिउँसो फलफूल खानु उपयुक्त हुन्छ ।
(ख) केरा रातीभन्दा बिहान दिउँसो खाँदा फाइदा हुन्छ ।
(ग) सुन्तला, मौसमी, कागती बिहान दिउँसो खानु उपयुक्त हुन्छ ।
(घ) अङ्गुर, स्याउ, नासपाती जुनसुकै समयमा खाए पनि हुन्छ ।
(ङ) अमिलो जातका फलफूल दही वा दुधसँग मिलाएर खानुहुँदैन ।
(च) खाना खाएर पेट भरिएका बेला फलफूल खाँदा ग्यास बनाउन सक्छ ।
(छ) केरा, आँप, अङ्गुर जस्ता फलफूल राती सुत्नुअगि खानुहुँदैन ।
(ज) फ्रिजबाट तुरुन्त निकालेर कुनै पनि फलफूल खानुहुँदैन ।
(झ) काटेर लामो समय राखेको फलफूल खानुहुँदैन ।
(ञ) विभिन्न फलको गुण र पाचन समय फरक फरक हुने भएकाले एकै चोटि धेरै फल मिसाएर नखानु उपयुक्त हुन्छ ।