खानेकुरा पकाउने काम आफैँमा एक कला हो । पोषण र स्वादको सन्तुलन मिलाएर पूरा गरिएको कलालाई हामी पाककला भन्दछौँ । पाककलाभित्र नै खाना अमृत बनाउने कि विष, शरीरमा पोषण दिने कि रोग निम्त्याउने, आयु लम्बाउने कि घटाउने आदि निर्भर रहन्छ ।
खाना विभिन्न तरिकाले पकाइन्छ । कुनै खाना तारेर त कुनै खाना उसिनेर तथा हल्का फ्राई गरेर पकाइन्छ । हरियो सागसब्जी उसिनेर पकाउँदा छिटो पाक्नुका साथै यसमा भएका पोषणतत्त्वसमेत नष्ट हुन पाउँदैन । खानेबेलामा मात्र सलाद तयार पार्नुपर्छ । तरकारी धेरै बेर उमाल्दा पोषणतत्त्व हराउन सक्छ । खाना पकाउनु अगि र पकाउँदा खानामा रहेको पोषणतत्त्व नष्ट हुन नदिन विशेष ध्यान दिनुपर्छ ।
धेरै बेर पकाएको खानामा रासायनिक परिवर्तन आएर अम्ल सिर्जना गरे विष बन्दछ । जसको सेवनले थकान, आलस्यता र कमजोरी उत्पन्न हुन सक्छ ।
काउली र आलुको तरकारी बनाउने तरिका
आवश्यक सामग्री
काउली, आलु, प्याज, खानेतेल, हरियो खुर्सानी, लसुन, अदुवा, मेथी, जिरा, बेसार, नुन, टमाटर, खाना बनाउने भाँडाकुँडा आदि
बनाउने तरिका
(क) कराही वा प्यान आगोमा तताउनुहोस् र तेल हाल्नुहोस् ।
(ख) जिरा र मेथी हालेर फुराउनुहोस् ।
(ग) अदुवा र लसुनको पेस्ट तथा प्याज हालेर एकछिन भुट्नुहोस् ।
(घ) टमाटर हाल्नुहोस् र नरम हुने गरी पकाउनुहोस् ।
(ङ) मसला राखेर एकछिन भुट्नुहोस् ।
(च) अब कराही वा प्यानमा काटेको आलु र काउली हालेर मसलासँग राम्ररी मिलाउनुहोस् ।
(छ) स्वादअनुसार नुन हाल्नुहोस् ।
(ज) अलिकति पानी छर्किएर प्लेट वा ढकनले छोपी मध्यम आँचमा ५–७ मिनेट पकाउनुहोस् ।
(झ) तरकारी पाकेपछि हरियो धनिया काटेर माथिबाट राख्नुहोस् । अब आलु र काउलीको तरकारी खानका लागि तयार हुन्छ ।
गहुँको सुख्खा रोटी बनाउने तरिका
आवश्यक सामग्री
गहुँको पिठो, पिठो मुछ्ने भाँडो, बेल्ना, चकला, तावा आदि ।
बनाउने तरिका
(क) भाँडामा गहुँको पिठो तथा थोरै पानी हालेर मुछ्नुहोस् र १०–१५ मिनेट कपडाले छोप्नुहोस् ।
(ख) मुछेको आटाबाट समान आकारका ससाना डल्ला बनाउनुहोस् ।
(ग) बेलना र चकलामा थोरै पिठो दलेर ससाना डल्लालाई चकलामा राखी बेलनाले झन्डै १५–२० सेमीको व्यासमा बेल्नुहोस् ।
(घ) तातेको तावामा बेलिएको रोटी हाल्नुहोस् ।
(ङ) एक छेउ हल्का फुलिन थालेपछि फर्काएर अर्को छेउ पनि सेक्नुहोस् ।
(च) पाक्दै गरेको रोटीमाथि सफा कपडा वा पाकेको रोटीले हल्का थिचेर फुलाउनुहोस् । अब गहुँको सुख्खा रोटी खानका लागि तयार हुन्छ ।
३. बिरयानी बनाउने तरिका
आवश्यक सामग्री
चामल, मासु, हरियो अलैँची, दही, प्याज, गोडभेडा, हरियो खुर्सानी, अदुवा, धनियाँ, नुन, पुदिना, घिउ, बिरयानी मसला, खाना बनाउने भाँडाकुँडा आदि ।
बनाउने तरिका
(क) चामललाई १० मिनेट भिजाउनुहोस् ।
(ख) प्याज, धनियाँपत्ता, पुदिना, टमाटर काटेर तयार पार्नुहोस् ।
(ग) खाना पकाउने भाँडामा घिउ, प्याज, अलैँची राखेर भुट्नुहोस् ।
(घ) मासु हालेर राम्ररी भुट्नुहोस् ।
(ङ) टमाटर, अदुवा, लसुनको पेस्ट, हरियो खुर्सानी, दही, बिरयानी मसला, नुन एकै पटक मिसाएर राम्ररी चलाउनुहोस् ।
(च) आगो अलिक कम गरेर १५÷२० मिनेट पकाउनुहोस् ।
(छ) चामलको भाँडामा आवश्यक मात्रामा पानी र थोरै नुन राखेर उमाल्नुहोस् ।
(ज) पानी उम्लिन थालेपछि भाँडाबाट सबै पानी निकाल्नुहोस् ।
(झ) उमालेको चामल राखेको भाँडामा पहिले पकाएको मासुलाई मिलाएर चलाउनुहोस् ।
(ञ) धनियाँ र पुदिनाको पत्ता छरिदिएर सानो आगामा १०÷१५ मिनेट पकाएपछि खानका लागि बिरयानी तयार हुन्छ ।