चारवर्षदेखि तपाईहरुलाई सूचना दिँदै आएको दैनिकीन्युज थप परिमार्जनसहित तपाईहरुको माझमा ल्याएका छौं ।
हामीले तपाईहरुकै चाहनालाई ध्यान राखेर यसको वनोट परिमार्जन गरेका हौं । जनताका आवाजलाई जस्ताको त्यस्तै उठाउने योजनासहित सुरु गरेको दैनिकीन्युजलाई तपाईहरुले दिनुभएको अगाध मयााकै कारण नयाँ साजसज्जासहित ल्याउन सफल भएका हौं ।
अहिलेको गतिशील विश्वमा तीव्र रुपमा सूचना पाउन खोज्ने तपाईहरुको अधिकारमा होष्टेमा हैसेँ गर्दै हामी जोडिएका छौं र यसलाई निरन्तरता दिने प्रतिवद्धता गर्दछौं ।
कोरोना संक्रमणको जोखिम बढ्न नदिन सरकारले दुईमहिनादेखि लकडाउन जारी राखेको छ । मानिसहरु घरमै बन्दी भएका छन् ।
आर्थिक क्रियाकलाप ठप्प छ, उद्योग कलकारखानामा खिया लाग्न थालिसकेको छ । दुईमहिनादेखि गतिविधि शून्य हुँदा बजारमा नकारात्मक प्रभाव पर्न थालिसकेको छ । यस्तो जटिल समस्याकाबीचमा हामीले दैनिकीन्युजलाई थप परिस्कृत र पाठकको रुचि अनुसारको बनाएका छौं ।
चुनौति र अप्ठेरो अवस्थामा हरेक कुराको मापन गरिन्छ, संकटमा रहेका आम पाठकहरुलाई सत्य, सूचना दिनु हाम्रो कर्तव्य हो, जसलाई रिस्क मोलेर हामीले पूरा गरिरहेका छौं, अझै गर्नैछौं ।
लकडाउनको कारणले मुलुक ठूलो दबाबमा छदैँछ, त्यसमाथि भारत र नेपालबीचको सीमा विवादको विषय यतिखेर चर्चामा छ ।
नेपालको लिम्पियाधुरामा भारतले सडक निर्माण गरेपछि विवाद सुरु भएको हो । नेपाल सरकारले उक्त क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि त्यसलाई भारतले नमान्ने बताएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको क्षेत्र हो भन्ने तथ्य र प्रमाण नेपालसँग सुरक्षित छ, सोही विषयलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने र सयुक्त राष्ट संघमा दह्रो कुराराख्नुपर्ने आवाज पनि उठ्न थालेको छ तर, कुटनीतिक क्षेत्रका जानकारहरु दुईदेशबीच वार्ताबाटै समस्याको समाधान निकाल्न सुझाव दिन्छन् ।
यसमा दैनिकीन्युजको धारणा पनि छिमेकी भारतसँग वार्ता र छलफलबाट समस्याको समाधान गर्नुपर्छ जुन कुटनीतिक सम्बन्ध विकासको आधार हो भन्ने कुरामा स्पष्ट पार्न चाहन्छ ।
हो भारतले हामीमाथि राम्रो व्यवहार गरेको छैन, उसले नेपालको राजनीतिलाई स्थिर बनाउन दिएको छैन, लामो समय नाकाबन्दी लगाएर हामीलाई पीडा दिएको छ तर, अर्काे साँचो के हो भने, हाम्रा नेताहरुकै कारण भारतले वर्षाेदेखि त्यसो गरेको हो ।
देशभित्रका राजनीतिक शक्तिहरु देशका मुद्दामा एक नभएसम्म छिमेकबाट यस्तै व्यवहार देखिन्छन् भन्ने कुरामा राज्य हाँक्ने भनेर हिडेका नेताहरुले बुझ्नुपर्ने हो ।
कोरोनाको कारण गरिएको लकडाउनमा भारतले जुन गतिविधि गर्यो यो स्वीकार गर्ने विषय पटक्कै होइन । तर, वर्षौदेखि भइरहेको गतिविधिमा किन कुनै नेता बोलेनन्, किन कसैले त्यो देखेन वा देखेर आँखा चिम्लियो ? प्रश्न नेताहरुतिरै सोझिन्छ ।
कोरोनाको कारण सयौं संक्रमित भएका छन्, चार जनाको मृत्यु भइसकेको छ । यस्तो संकटको बेलामा आम नागरिकलाई सुरक्षित राख्नु राज्यको दायित्व हो । अहिलेसम्म सरकारले उति राम्रो काम गर्न नसकेको आरोप छ । विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने, भारतीय सीमामा रहेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन नसकेको सरकारले अलोचना खेप्न परेको छ । यसको सम्बोधन छिट्टै हुनेछ भन्ने विश्वास लिएका छौं ।
जातकै कारण आजको युगमा पनि नेपालीहरु मारिनुपरेको छ । जाजरकोट खलङ्गाका २१ वर्षीय नवराज विश्वकर्मा लगायत ३ जनालाई आफ्नी प्रेमिका लिन रुकुम पश्चिमको चौरजहारी पुगेका बेला त्यहाँ सिंगो गाउँ उत्रिएर गरेको हत्या नेपालको इतिहासमा एउटा कालो दिनका रुपमा रहेको छ । यस्ता खालका कुकृत्यको अन्त्य गराउन सरकारले कानुन ल्याउन जरुरी छ हामी यस कुरामा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं ।