Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फ्रन्टलाइनमा खटिनेलाई कोरोना सर्ने उच्च जोखिम !

फ्रन्टलाइनमा खटिनेलाई कोरोना सर्ने उच्च जोखिम !

रामहरि कार्की

२६, जेठ २०७७
फ्रन्टलाइनमा खटिनेलाई कोरोना सर्ने उच्च जोखिम !
images

ललितपुर । त्रिभुवन शिक्षण अस्पतालमा कार्यरत डाक्टर महेश क्षेत्रीलाई पनि लकडाउनको बेला दौडादौड छ । शिक्षण अस्पतालमा झन् कोरोना महामारी फैलिएपछि उनी आफ्नो नियमित कामको दौरानमा त्रसित छन् । तर, यस्तो बेला आफ्नो पेशागत धर्मको लागि पनि फिल्डमा खटिनु उनको धर्म हो । उनी भन्छन्, ‘हामीले सकेसम्म सावधानी अपनाएका छौं, यति गर्दा पनि सर्छ भने के गर्न सकियो र ?’ शिक्षण अस्पतालमा विरामीलाई कोरोना पोजिटिभ देखिएपछि केही दिन सील गरिएको थियो । अहिले अत्यावश्यक बाहेक अन्य सेवा अस्पतालले बन्द गरेको छ ।

सातदोबाटोमा कार्यरत प्रहरी हवल्दार इश्वर बञ्जारा बिहानैदेखि ड्युटीमा हुन्छन् । फ्रन्ट लाइनरहरुमध्ये प्रहरीमा सबैभन्दा संक्रमित हुने क्रम बढेपछि उनी पनि त्रासमा छन् । तर, जोखिम मोलेर ड्युटीमा खटिनुको विकल्प छैन प्रहरीको । जोखिम मोलेर आफ्नो धर्म निभाउँदै आएको प्रहरीको भूमिका पनि उच्च छ । ‘काम त जसरी पनि गर्नैपर्यो, हामी भित्र बसे जनताको जिउधनको सुरक्षा कस्ले गर्छ ?,’ उनले भने ।

एक टेलिभिजनमा कार्यरत दिपक अर्याल पनि लकडाउन र कोरोना महामारीको समयमा फ्रन्टलाईनमा उभिएर काम गरेका छन् । टेलिभिजन पत्रकारितामा भिजुअलको लागि फिल्डमा खटिनुपर्ने बाध्यता छ । त्यसो त अन्य सञ्चारकर्मी पनि लकडाउनको बेला स्थलगत रिर्पोटिङमा खटिएका छन् । लकडाउनकै दौरानमा अर्याल स्थलगत रिर्पोटिङको लागि पूर्वी तराई र पश्चिम क्षेत्रमा पुगेका थिए । कोरोना महामारी फैलिरहेको बेला रिर्पोटिङ गर्नु जोखिमपूर्ण रहेको उनको बुझाई छ । ‘पत्रकारिता सधै चुनौतिकै पेशा हो, यस्तोबेला अझ चुनौति र त्रास हुन्छ, आफ्नो ख्याल राखेर काम गर्नुको विकल्प हुन्न,’ उनले सुनाए ।

महामारीको बेला ‘फ्रन्ट लाइन’मा बसेर काम गर्नेहरूलाई चुनौति छ । जोखिम मोलेर पेशागत जिम्मेवारी निभाउनुपर्ने अवस्था छ । जसको कारण सञ्चारकर्मी, प्रहरी र स्वास्थ्यकर्मीलाई अहिले दौडादौड छ । अहिले कोरोनाबाट सबैभन्दा बढी सुरक्षाकर्मी प्रभावित बनेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सुरक्षा निकायका ५३ जनामा कोरोना सङ्क्रमण भएको छ । यसमा सबैभन्दा बढी ३३ जना नेपाल प्रहरीका छन् । नेपाली सेनाका १४ मध्ये ७ जना विदेशमा सङ्क्रमित भएका हुन् । सशस्त्र प्रहरीका ५ र राष्ट्रिय अनुसन्धान विभागका एकजनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, स्वास्थ मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार हालसम्म १६ जना स्वाथ्यकर्मी पनि संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टका अनुसार हालसम्म १२ जना पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । उनका अनुसार ४ जना पत्रकारले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

जोखिमकै बेला बढी जिम्मेवारी निभाउनुपर्ने फ्रन्ट लाइनरहरुका लागि भने सरकारले पर्याप्त सुरक्षा र हौसला दिन सकिरहेको छैन । कतिपय प्रहरी मास्कबिनै पनि सुरक्षामा खटिन बाध्य भइरहेको छन् । पुग्दो मात्रामा पीपीई, मास्कलगायत स्वाथ्य उपकरण र परिक्षण किटको अभाव हुँदा अहिले सोचेजसरी कोरोना परिक्षण हुन सकिरहेको छैन । यस्तो बेला फ्रन्ट लाइनमा काम गर्नेहरुले उच्च सावधानी अपनाउनुपर्ने ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङ बताउँछन् । ‘अहिले जोखिम मोलेर काम गर्नु हाम्रो दायित्व हो, तर सरकारले मुलधारमा खटिनेको लागि सुरक्षा चाहि दिन सक्नुपर्छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार फ्रन्ट लाइनमा बसेर काम गर्नेहरुमा कोरोना संक्रमणको उच्च जोखिम देखिएकोले सावधानी अपनाएर काम गर्न निर्देशन दिइएको बताए । उनले सबै क्षेत्रका व्यक्तिहरुलाई सुरक्षा सामग्री प्रयोग गरेर मात्रै आफ्नो काममा खटिन आग्रह गरेको जानकारी दिए । ‘यस्तो बेला अरुको सेवामा खटिएकाहरुको लागि मन्त्रालयले सक्दो सहयोग गरेको छ,’ उनले भने, ‘सुरक्षा सामग्रीको अभाव हुन दिन्नौं ।’

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जोखिमको बेला आफू बचेर काम गर्नुको विकल्प नरहेको बताए । उनले फ्रन्ट लाइनमा बसेर काम गर्ने सबैलाई सतर्क रहेर काम गर्न आग्रह गरेको जानकारी दिए । ‘केन्द्रमा बसेर काम गर्नेलाई अहिले केही चुनौति नै छ तर आफ्नो पेशागत जिम्मेवारी निभाउनु सबैको दायित्व हो, काम गर्दा पहिलो सुरक्षा आफू हो,’ उनले भने । उनले गृह मन्त्रालयले सबै जिल्लाका सिडिओहरुलाई पत्रचार गरी फ्रन्ट लाइनमा खटिनेहरुको जोखिम सुरक्षामा चासो दिन आग्रह गरेको बताए । उनका अनुसार महामारीको बेला फ्रन्ट लाइनमा काम गर्नेहरु माथि दुव्र्यवहार भएर कारबाही गर्न सबै प्रशासनहरुलाई निर्देशन दिएको छ ।

वरिष्ट पत्रकार हस्त गुरुङले जोखिमको बेला आफ्नो पेशागत जिम्मेवारी निभाउदा आफ्नो सुरक्षा अग्रपंक्तिमा हुनुपर्ने बताए । उनले भने, ‘अहिले अन्य पेशाका कर्मचारीलाई भन्दा प्रहरी, पत्रकार र डाक्टरलाई बढी जोखिम छ, यस्तो बेलामा आफू बसेर काम गर्नुपर्छ ।’ उनका अनुसार पछिल्लो पत्रकारिता अनलाईन र इन्टरनेटले गर्दा धेरै सहज बनेको छ । संक्रमितबाट अलि परै बसेर सञ्चारकर्मीहरुले रिर्पोटिङ गर्न सक्छु भन्ने विकल्पहरु पनि छन् । फोन, इन्टरनेट, सामाजिक सञ्जालको बढी प्रयोग गरी मोविलिटी कम गराउन आवश्यक रहेको उनको भनाई छ । उनले यस्तो बेलामा स्थलगत रिपोटिङ गर्नु पनि अत्यावश्यक भएकाले पत्रकारहरुले त्यसतर्फ चसो दिनुपर्ने बताए ।

ललितपुरमा जोखिम बढी परीक्षण कम
थोरै सहरी क्षेत्र र धेरै ग्रामीण भेग रहेको ललितपुरमा पनि कोरोना महामारीको बेला अनेक समस्या देखिएका छन् । गाउँ गाउँमा परिक्षण नहुनु, ओहोरदोहोरलाई पूर्ण निषेध गर्न नसक्नु र गाउँमा उत्पादन भएका सामग्रीलाई बजारसम्म ल्याउन पनि यो समयमा धेरै सकस नै भयो । तर, हालसम्म ललितपुरमा संक्रमितको संख्या भने डरलाग्दा छैन । ललितपुरमा हालसम्म ३ जना संक्रमित फेला परेको उनको भनाई छ । जिल्लाका गाउँपालिकाहरुले महामारी रोक्नको लागि निभाएको भूमिका तारिफयोग्य नै छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले जोखिमको बेला समुदायस्तरमा त्रास फैलिएकाले जनचेतनाको पनि खाचो रहेको बताए । उनले भने, ‘हामीले सकेसम्म महामारीलाई जित्न सक्ने तयारी गरेका छौं, टेस्ट पनि भइरहेको छ, ग्रामीण भेगमा जोखिम नरहेकाले त्यति केन्द्रित भएका छैनौं ।’

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ०९:२३:०६ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology