Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तिहारलगत्तै त्रिविका परीक्षा, विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

तिहारलगत्तै त्रिविका परीक्षा, विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

दैनिकी न्यूज

२२, कार्तिक २०७७
तिहारलगत्तै त्रिविका परीक्षा, विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी
images

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस ९कोभिड–१९० का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा। पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

अन्तिम तहको परीक्षा प्राथमिकतामा
विश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ । यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग हुन सकोस् भन्ने हिसाबले विश्वविद्यालयले अन्तिम तहका विद्यार्थीलाई प्राथमिकतामा राखिएको हो ।

सेमेस्टरको मङ्सिर १५ पछि
विश्वविद्यालयले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिर १५ पछि सञ्चालन गर्ने भएको छ । यस वर्ष मङ्सिर १ गते तिहार परेको छ । विद्यार्थीलाई दुई साताको समय दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो । सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने अधिकारको विश्वविद्यालयको डिन कार्यालयलाई दिइएको छ । डिन कार्यालयले मङ्सिरमा परीक्षा लिने भने पनि कार्यतालिका भने सार्वजनिक गरेका छैनन् । अब डिन कार्यालयले सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको स्वतन्त्र तरिकाले परीक्षा सञ्चालन गर्न सक्नेछन् ।

वार्षिकको परीक्षा अन्तिम साता
यसैबीच विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिर अन्तिमबाट सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न आवश्यक तयारी र गृहकार्य गरिरहेको जानकारी रजिस्ट्रार दाहालले दिनुभयो । मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन विषयमा वार्षिक परीक्षा प्रणालीमा हजारौँ विद्यार्थी अध्ययन गर्ने भएकाले ती विद्यार्थीको परीक्षा केही सातापछि हुनेगरी लिन लागिएको हो । यस विषयमा विश्वविद्यालयले छिट्टै विद्यार्थीलाई सूचित गर्ने भएको छ ।

भौतिक उपस्थितिमै परीक्षा
विश्वविद्यालयले भौतिक उपस्थितिमै विद्यार्थीको परीक्षा लिने कुरा आफ्नो पहिलो प्राथमिकतामा भएको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिए पनि उच्च शिक्षामा धेरै विद्यार्थीको चाप रहेको त्रिविले भने भौतिक उपस्थितिमै परीक्षा लिने योजना बनाएको हो । रजिस्ट्रार दाहालले विद्यार्थीलाई भौतिक रूपमा नै परीक्षा लिने आफूहरूको तयारी रहेको बताउनुभयो तर कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको अवस्थामा भने विकल्पका बारेमा सोच्न सकिने जनाइएको छ । विश्वविद्यालयले काठमाडौँमा आउन सक्ने अवस्थाका विद्यार्थीलाई यहीँ परीक्षा लिने र आउन नसक्ने अवस्थाका विद्यार्थीलाई काठमाडौँ बाहिरका केन्द्रबाट पनि परीक्षा दिन सक्ने सुविधा उपलब्ध गराएको जानकारी उहाँले दिनुभयो ।

विद्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस् भनेर परीक्षा केन्द्र छनोट गर्न दिइएको हो । धेरै विद्यार्थी भएका कारण परीक्षाको निर्णय लिनमा केही समय लिए पनि अब परीक्षा निर्वाध रूपमा सञ्चालन गरिने जनाइएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - ०६:३५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology