Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एक महिनाभित्र कक्षा १२ को नतिजा, सङ्क्रमितलाई परीक्षाको अवसर दिइने

एक महिनाभित्र कक्षा १२ को नतिजा, सङ्क्रमितलाई परीक्षाको अवसर दिइने

दैनिकी न्यूज

१७, मंसिर २०७७
एक महिनाभित्र कक्षा १२ को नतिजा, सङ्क्रमितलाई परीक्षाको अवसर दिइने
images

काठमाडौं । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए । यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ ।

परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले बताए । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिने अवसर बोर्डले उपलब्ध गराएको थियो ।


सङ्क्रमितलाई परीक्षाको अवसर
यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ । कोरोनाबाट प्रभावित विद्यार्थी परीक्षामा सहभागी हुँदा अन्य विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः परीक्षा लिने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले भने यस खालका विद्यार्थीलाई अन्य विद्यार्थीभन्दा १५ मिनेट ढिला गरी परीक्षा प्रारम्भ गर्ने गरी सूचित गरिसकेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ०६:१३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology