Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिविले परीक्षा जारी राख्ने, सोमबारको परीक्षा पनि चल्ने

त्रिविले परीक्षा जारी राख्ने, सोमबारको परीक्षा पनि चल्ने

दैनिकी न्यूज

१२, बैशाख २०७८
त्रिविले परीक्षा जारी राख्ने, सोमबारको परीक्षा पनि चल्ने
images

काठमाडौं । सरकारले भोलि सोमबारदेखीका सबै परीक्षा रोक्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयले सोमबारका लागि तय भएको परीक्षा स्थगित नभएको जानकारी दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठकले मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेकाले सबै परीक्षा भोलिदेखि नै स्थगित गर्न सरकारसँग सिफारिस गर्ने निर्णय लिएको बताएका थिए । तर त्रिविले सोमबारका लागि तय भएका परीक्षा जारी रहने जनाएको हो । त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबारको परीक्षा यथावत रहेको जानकारी दिए । 'स्नातक दोस्रो वर्षको परीक्षा चलिरहेको छ । भोलिका लागि तय भएको परीक्षा थयावत छ । बिहान ७ बजेदेखि नै परीक्षा भएकाले हामीले रोक्न सक्दैनौं,' उनले भने, 'आज म्यानेजमेन्टको सकियो । भोलि बिएड, बिएस्सी र बीएको परीक्षा छ ।' कोरोना संक्रमणलाई ध्यानमा राखेर दिनमा दुई सिफ्टमा परीक्षा लिइरहेको जोशीले बताए । सीसीएमसीले सिफारिस गरेको समाचार आएपछि त्रिविका पदाधिकारीबीच सल्लाह गरेर नै सोमबारको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने निर्णय लिइएको उनले बताए । 'सीसीएमसीबाट हामीलाई कुनै जानकारी आएको छैन । परीक्षा स्थगित गर्न सिफारिस गर्‍यो भन्ने बित्तिकै हामी अलर्ट भयौं । हाम्रो बोर्ड बैठक बस्छ भोलि र त्यसपछि के गर्ने भन्ने सल्लाह गरौंला भन्ने भएको छ,' उनले भने । परीक्षा बोर्डका अध्यक्ष, रजिष्टार र परीक्षा नियन्त्रकबीच छलफलपछि सोमबारको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने निर्णय भएको हो । स्नातक दोस्रो वर्षको परीक्षा वैशाख १७ गते सकिने र त्यतिबेलासम्म सञ्चालन गर्न पाएमा रिजल्टको तयारी गर्न सकिन्थ्यो भन्नेमा त्रिवि रहेको उनले जानकारी दिए । विद्यार्थीले पनि परीक्षा सञ्चालन गरिदिए हुन्थ्यो भनिरहेको उनको भनाइ थियो । नेपालगन्जमा सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा पनि स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन भइरहेको जोशीले जानकारी दिए । निशेधाज्ञा लागेमा के गर्ने भन्ने निर्णय लिने र सोमबारका लागि तय भएको परीक्षा भने यथावत रहने उनले दोहोर्‍याए ।

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - २२:०४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology