Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोभिड संक्रमणबाट निजी विद्यालय चरम संकटमा

कोभिड संक्रमणबाट निजी विद्यालय चरम संकटमा

दैनिकी न्यूज

५, आषाढ २०७८
कोभिड संक्रमणबाट निजी विद्यालय चरम संकटमा
images

काठमाडौं । कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् ।

लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न हम्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुनासो छ । कोरोनाले सामान्य अभिभावकको आम्दानी खोसिएपछि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने क्रम बढेको पीडित अभिभाव बताउँछन् । यसैका कारण पनि निजी विद्यालय थप संकटमा पर्दै जान थालेका हुन् ।

हाल देशभर झन्डै १० हजार निजी विद्यालय रहेका छन् । यही अवस्था रहिरहे सयांै विद्यालय बन्द हुन सक्ने सञ्चालकको भनाइ छ । वैकल्पिक विधिबाट कक्षाहरू भए पनि अभिभावकले पूर्ण शुल्क नतिरेकाले संकट बेहोर्नुपरेको निजी विद्यालयका सञ्चालक बताउँछन् ।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालय निकै अफ्ठेरोमा परेको बताए । उनले भने, ‘बैंकको किस्ता तिर्नुपर्ने कर बुझाउनैपर्ने र केही विद्यालयहरूले घरभाडा पनि बुझाउनुपर्ने हँुदा समस्याले आक्रान्त छन् ।’

निजि विद्यालयहरू चरम आर्थिक संकटमा परेका छन् । जसकारण निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले समयमा तलबसमेत पाउन सकेका छैनन् । प्याब्सनका अनुसार देशभर १ लाख ५० हजारको हाराहारीमा शिक्षक कर्मचारी कार्यरत रहेका छन् । अनुमानित १० हजार निजी विद्यालयमध्ये २० प्रतिशत विद्यालयले मात्रै शिक्षक कर्मचारीहरूलाई तलब उपलब्ध गराउन सकेको प्याब्सनले जनाएको छ ।

हाल देशभर झन्डै १० हजार निजी विद्यालय छन् । यही अवस्था रहिरहे सयौं विद्यालय बन्द हुन सक्ने सञ्चालकको भनाइ छ

यस्तै, प्याब्सनले निजी विद्यालयलाई अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गर्नुपर्ने माग सरकारसँग राखेको छ । प्याब्सनका अध्यक्ष पुरीले निजी विद्यालयलाई अति प्रभावित क्षेत्रमा वर्गीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । सञ्चालकहरूले आर्थिक वर्ष २०७७÷७८ मा निजी विद्यालयले लिएको कोभिड शीर्षकको ऋणको म्याद अरू दुई वर्ष थप गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ऋणको ब्याजदर ५ प्रतिशत कायम गर्न र निजी विद्यालयलाई गरिने व्यावसायिक कर्जालाई सरलीकृत गर्न पनि माग गरेका छन् ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय तहमा शुल्क निर्धारण मापदण्ड कार्यान्वयन गर्न सकिए धेरै हदसम्म समस्या हल हुने बताए । उनले भने, ‘बन्दाबन्दीका बीचमा वैकल्पिक विधिबाट पढाइ भइरहेको छ । त्यसैले सरकारले अनलाइन विधिबाट पढाइ भएको शुल्क सीमा तोक्नुपर्छ । अभिभावकको पनि क्रयशक्ति घट्दै जाँदा समस्या भएको देखिन्छ ।’ उनले सरकारले विद्यालयको अनलाइन शिक्षण शुल्क तोक्नुपर्ने बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार देशभरमा करिब ७८ लाख विद्यार्थी अध्ययनरत छन् । जसमध्ये करिब २० प्रतिशत हिस्सा निजी विद्यालयले धान्दै आएका छन् ।

कोभिडको उच्च जोखिम बढ्दै गएपछि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । त्यसयता विद्यालय खुले पनि पूर्णतः भौतिक उपस्थितिसहित सञ्चालनमा आउन सकेका छैनन् । केही समय खुकुलो भए पनि पुनः विद्यालयहरूमा भौतिक उपस्थितिसहित पठनपाठन बन्द गरिएको थियो ।

यस्तै, कोरोना महामारीबीच १ असारबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । भौतिक उपस्थिति गराएर पढाउन सम्भव नभएका जिल्लामा विद्यालयहरूले विद्यार्थीलाई वैकल्पिक विधिबाट अध्यापन गराउनुपर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - ०५:५०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology