काठमाडौं । काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
प्रजिअ पराजुलीले अवस्था विश्लेषण गरी विद्यालय खोल्ने/नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको जानकारी दिए ।
काठमाडौंको स्थानीय तहका शिक्षा हेर्ने अधिकृत प्रतिनिधि र काठमाडौंका प्रजिअसहितको सोमबारको बैठकले उक्त निर्णय गरेको हो ।
“कतिपय वडाहरूमा कोभिड शून्य रहेको पाइएको छ, ती वडाले सुरक्षित भएर असोज १ गतेपछि विद्यालय खोल्न सक्छन्, अन्य वडामा पनि कोभिडको अवस्था हेरेर खुलाउन सकिने भन्ने भएको छ, सबै अधिकार स्थानीय तहलाई नै दिइएको छ,” प्रजिअ पराजुलीले भने।
अन्य जिल्लाले भने छलफलपछि मात्रै निर्णय लिने जनाएको छ ।