Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने

नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने

दैनिकी न्यूज

१५, पौष २०७८
नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने
images

काठमाडौं । शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ । शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन पूरा गरेको छ ।

आयोगले बुधबार प्रावि तहको शिक्षकको विज्ञापन गरेको थियो । सो तहमा १३ हजार ९३ शिक्षकको विज्ञापन गरेको हो । प्राविको जिल्ला स्तरबाटै प्रतिस्पर्धा र छनोट गर्ने गरी खुला विज्ञापन गरेको हो । आयोगले १० दिनको अन्तरालमा तीनै तहको शिक्षकको विज्ञापन प्रक्रिया पूरा गरेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले परीक्षा सकेर स्थायी शिक्षक विद्यालयमा हाजिर हुन करिब आठ महिनाजति लाग्ने दाबी गर्नुभयो । तर उहाँको दाबीलाई साँचो मान्न मुस्किल पर्छ । आयोगले तय गरेको सामान्य परीक्षाको मिति माविको १५, निमाविको १७ र प्राविको १९ गते छ ।

१०० पूर्णाङ्कको सामान्य परीक्षाको परीक्षाफल प्रकाशित हुन करिब तीन महिना लाग्न सक्ने अनुमान आयोगको छ । सो परीक्षामा ५० प्रतिशत उत्तीर्ण अंक ल्याउनैपर्छ । विषयगततर्फको १०० पूर्णाङ्कको परीक्षा दिनुपर्छ । सो परीक्षामा ४० प्रतिशत अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुन्छ ।

‘एउटा परीक्षार्थीले एक तहको शिक्षकको भर्ना हुन दुई विषयमा परीक्षा दिनुपर्ने भएकाले केही ढिलो हुन सक्छ’ –सूचना अधिकारी मरहठ्ठाले नेपाल समाचारपत्रसँग भन्नुभयो । ती परीक्षार्थी दुई परीक्षामा उत्तीर्ण भएपछि विज्ञसहित टोलीको अन्तर्वार्ता लिएपछि बल्ल नियुक्ति प्रक्रिया शुरु हुन्छ ।

यी सबै प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्न सक्ने अनुमान गर्न सकिन्छ । यो वर्ष निर्वाचन पर्ने भएकाले अझै ढिलो हुन सक्ने सम्भावना रहेको छ । आयोगका सूचना अधिकारी मरहठ्ठ भन्नुहुन्छ– ‘हामीले तोकेको समयमा अर्थात् करिब ९ महिनाभित्र नयाँ शिक्षक नियुक्ति प्रक्रिया शुरू गर्ने योजना बनाएका छौं । सोहीअनुसार सम्पूर्ण प्रक्रिया अघि सारेका छौं ।’

आयोगले राष्ट्रिय परीक्षा बोर्डसँग अनौपचारिक कुराकानी गरी एसईई परीक्षा र आयोगको परीक्षा सँगै नगर्ने गरी सहमति गरिसकेको छ । यसअघि एसईईको कारण परीक्षा सर्न सक्ने अनुमान आयोगको थियो । आयोगका सूचना अधिकारी मरहठ्ठाले बोर्डले शिक्षक परीक्षा हुनु केही अघि वा पछि मात्र एसईई परीक्षा हुने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

आयोगले अनुसार मावि तहमा १ हजार ५ सय ४७, निमाविमा २ हजार ५ सय ९८ र प्राविमा लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको छ । आयोगले यसपटकबाट अनलाइन माध्यमबाट मावि तहको आवेदन लिएको छ । आवेदकको संख्या एकैपटक बढ्न सक्ने र सर्भरले काम गर्न नसक्ने भयले चरणबद्ध रूपमा विज्ञापन गरेको हो ।

माध्यमिक र निम्न माध्यमिक तहभन्दा बढी प्राथमिक तहको संख्या प्राविमा झन्डै ९ हजार बढी आवेदन माग गरिएको छ । राज्यले हाल माध्यमिक र आधारभूत गरी दुई तहको शिक्षा निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन तहका शिक्षकको संख्या तोकेर पठाएपछि सोही आधारमा विज्ञापन गरेको आयोगको भनाइ छ । सरकारले १–८ आधारभूत र ९–१२ लाई मावि तह उल्लेख गरेको छ । आयोगले परीक्षामा बढी शिक्षक उत्तीर्ण गर्ने अभिप्रायले सबै तहको नमुना प्रश्नपत्र तयारी गरेको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - ०८:०१:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology