Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विदामा वालवालिकाहरूले के गर्ने, के नगर्ने

विदामा वालवालिकाहरूले के गर्ने, के नगर्ने

विजय खड्का

१६, आश्विन २०८२
विदामा वालवालिकाहरूले के गर्ने, के नगर्ने
images

विद्यालय विदा हुँदा बालबलिकाहरू खुसी हुने गर्दछन । विदाको समयमा परिवारसँगै बस्ने, मनपरेको कुरा खाने, घुम्न जान पाईने र दिनभर घर बस्न पाईने भएको हुँदा अवश्य पनि विदाको समय रमाईलो हुन्छ । यसमा पनि अभिभावकहरूले बालबालिकाहरूको विदा सदुपयोग गर्नका लागि धेरै उपायहरू अवलम्वन गर्न सक्छन । पहिलो कुरा अभिभावकहरूले आफ्ना वालवालिकाहरूलाई आफुसंगै राखि अफ्नो सम्भव भएसम्म बच्चाहरूको रूचिको बिषय र उनीहरूको सिकाइमा मद्दत गर्नु पर्दछ । यस समयमा विद्यालयले विदाको लागि दिएको गृहकार्य गर्ने, चित्रकला, संगीत, पठन र लेखन सिपको विकास साथै खेलकुदमा ध्यान दिन आवश्यक छ । यसले बाल बालिकाहरूको शैक्षिक र सामाजिक क्षमताहरू विकास गर्न मद्दत पुग्दछ । यसका साथै परिवारसँग समय बिताउने अवसर पनि यस समयमा बढी हुन्छ, जसले पारिवारिक सम्बन्धलाई अझ मजबूत बनाउँछ । अभिभावकहरूले आफ्नो बच्चाहरूको रुचि र क्षमताका आधारमा नयाँ नयाँ गतिविधिहरू र अनुभवहरू प्रस्तुत गर्नको लागि महत्वपूर्ण ठाउँहरूमा फिल्ड भिजिट, हाईकिङ यात्रा, बगैंचाको सरसफाई, खाना परिकार पकाउने वा नयाँ भाषा सिक्ने, कम्प्युटर सिक्नेजस्ता कार्यले बच्चाहरूको रचनात्मकता र प्रतिभा प्रष्फुटनमा सहयोग पु¥याउँछ ।

आजकल विज्ञान र प्रबिधिको विकाससँगै अस्तित्वमा आएका थुप्रै अनलाईन गेमहरू जस्तै पब्जी, फ्रि फायर, मोवाईल लेजेन्स ब्याङ ब्याङ, ई फुटबल, रोब्लक्सजस्ता अनलाईन गेमहरू प्रत्येक मोबाईलमा सजिलै डाउनलोड हुने र जत्ति समयसम्म खेल्दा पनि नसकिने भएकोले आफ्नो बच्चाहरूलाई यसबाट टाढा राख्नको लागि कथा, कविता आर्ट एण्ड क्राफ्टका नयाँ किताब किनिदिने र आफैंसँग राखि यसको अधिकतम प्रयोग गर्न लगाउन सकिन्छ । यसले उनीहरूको पठन सीपमा निखारता ल्याई आत्म–विश्वास र मानसिक स्वास्थ्यलाई बलियो बनाउँछ । यसको अलावा परिवार आफन्तहरू र साथीहरूसँगको मिलन, सामाजिक कार्यक्रमहरू र समुदायिक सेवामा भाग लिनाले पनि सामाजिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्दछ । विद्यालयको लामो विदालाई केवल व्यतित गर्ने होइन, तर यसलाई सदुपयोग गर्दै व्यक्तिगत, पारिवारिक र सामाजिक विकासको अवसर बनाउनु पनि महत्वपूर्ण हुन्छ । यस समयमा वालवालिकाहरू विविध कारणले कुलतमा लाग्ने, मन मस्तिष्क एकाग्र नहुने र अनावश्यक साथीहरूसँगको सम्बन्धले आफ्नो दैनिकी बिग्रन पनि सक्छ । त्यसैले यस्तो क्रियाकलापबाट पनि बच्नु पर्ने हुन्छ ।

चाडपर्वहरू हामी नेपालीहरूको धर्म संस्कृति र परम्पराको महत्वपूर्ण अङ्गहरू हुन् । यी चाडपर्वहरूले हामीहरूलाई परम्परा, संस्कार र अपसी स्नेहलाई जोगाइ राख्न मद्दत गर्छन् । हाम्रा मौलिक चाडहरू दशैं, तिहार, छठ, होलीजस्ता चाडपर्वहरू नेपाली समाजमा विशेष महत्व राख्छन् । यी चाडवाडहरूमा मानिसहरू राम्रो लाउने र मिठो खाने गर्दछन । यस समयमा हाम्रा विद्यालयहरू एक दुई हप्तासम्म विदा हुँदा विद्यार्थीहरूलाई अध्ययनमा मर्का पर्न जान्छ । यस समयमा झन बढी पढाईका स्रोतहरू सङ्कलन गर्ने र परियोजना कार्यहरू गर्नाले समस्या समाधानमा निखारता ल्याउँछ । विदाको समयमा योजना बनाएर आफ्नो अध्ययन, व्यक्तित्व विकास र स्वास्थ्य अबस्थालाई पनि ख्याल गरी अध्ययनलाई निरन्तरता दिन आवश्यक छ । यस लेखमा, हामी विद्यालयमा चाडपर्वको समयमा हुने लामो विदामा विद्यार्थीहरूले के गर्न र के नगर्ने भन्ने कुरामा चर्चा गर्नेछौं ।

विद्यार्थीहरूले के गर्ने:
–अध्ययनलाई निरन्तरता दिने
विद्यार्थीहरूले लामो विदामा पनि आफ्नो अध्ययनलाई निरन्तरता दिनु आवश्यक छ । यदि यस्तो गरिएन भने आफैंमा नौ दिनमा नौलो र वीस दिनमा बिस्र्यो हुन जान्छ । विदामा घरमै बसेर पनि आफ्नो पाठ्यपुस्तकहरू राम्ररी हेर्ने, नबुझेका बिषय बस्तुहरू नोटमा टिपेर राख्ने, दोहो¥याएर पढ्ने, पाठमा भएको अभ्यासहरू गर्ने र त्यस बिषय सम्बन्धि नयाँ ज्ञान हासिल गर्न ध्यान दिने गर्नु पर्छ । यसले गर्दा विदापछि विद्यालयमा फर्किंदा आफुलाई अध्ययनमा सहज हुन्छ ।

–नयाँ सीप र रुचिको विकास गर्ने
यस समयमा नयाँ सीप सिक्न प्रयास गर्नु राम्रो हुन्छ । जस्तैः भाषाका कोर्ष, कम्प्युटर सीप, लेखन, चित्रकला, सङ्गीत आदि । यसले व्यक्तित्व विकासमा मद्दत गर्दछ र समय सदुपयोग पनि हुन जान्छ ।

–स्वास्थ्य र स्वास्थ्य सम्बन्धी गतिविधि गर्ने
आफ्नो शरीरलाई स्वस्थ र तन्दुरुष्त राख्न नियमित रूपमा व्यायाम, योग वा अन्य खेलकुद गतिविधिहरू गर्नुपर्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । पर्याप्त निद्रा, सही खानपान, र मानसिक शान्ति पनि आवश्यक हुन्छ ।

–अनलाइन कक्षा लिने
यदि अनलाइन पढाइको व्यवस्था भए, त्यसमा सक्रिय सहभागी हुनुहोस् । यदि नभएमा पनि मोवाईल वा कम्प्युटरको प्रयोग गरी युट्युव च्यानलबाट प्रसारित हुने सिकाई सम्बन्धि भिडियोहरू हेर्ने गर्नुहोस् । यसका अलावा आफ्नो परिवारसँग समय बिताउने घरका कामहरूमा सहयोग गर्ने गर्नुहोस ।

–आफ्नो लक्ष्य र योजना बनाउने
किशोराबस्थाका वालवालिकाहरूले विद्यालय विदाको अवधिमा आफ्नो लक्ष्यअनुसारको अध्ययनसँग सम्बन्धित सन्दर्भ सामग्रीहरू सङ्कलन गर्नुहोस् । यस बिषयमा खुलेर आफ्नो अभिभावकसँग कुरा राख्नुहोस यसले तपांईलाई आफ्नो रुचीको विषयमा अझ निखारता ल्याउछ ।

विद्यार्थीहरूले के नगर्ने:
–अनावश्यक मिडिया र सामाजिक सञ्जाल प्रयोगमा अत्यधिक ध्यान नदिने
आजकलको प्रमुख समस्या भनेकै बालबालिकाहरूले अधिक समय सामाजिक सञ्जाल र अनलाईन गेमहरूमा बिताउनु रहेको छ । यसले गर्दा पढाइमा ध्यान कम हुने राती अबेर सुत्ने कम सुन्ने मानिसक समस्या हुने जस्ता भयानक र बिकराल अवस्था आउने हुँदा यस्ता विद्युतीय सामग्रीहरूको प्रयोग सिमित गराउने प्रयास गर्नु पर्दछ ।

–अनावश्यक ढिलाइ र विलम्ब नगर्ने
सामान्यतया बालबालिकाहरूले विदाको समयमा पढाईमा सक्रिय नहुने, ढिला उठ्ने, अल्छी गर्नेजस्ता बानी बसाल्न सक्छन । यसले अनुशासन बिग्रन्छ र पढाइमा नकारात्मक प्रभाव पर्छ । त्यसैले के गर्ने भनि समय तालिका बनाउने र त्यसको पालना गर्ने । अनावश्यक काममा ध्यान नदिने आफ्नो दैनिक क्रियाकलापलाई ध्यान दिने ।

–साथी संगतीबाट टाढा रहने
समाजमा रहेका तपांईका बालबालिकासँग कस्ता किसिमका साथी संगती छ, यसको पूर्ण रूपमा अभिभावकले ख्याल गर्नु पर्दछ । क्षणिक रमाईलोको लागि भनि जांड, रक्सी, चुरोट, ड्रग्स खाने र प्रयोग गर्ने समूहबाट टाढा रहने गर्नुहोस् । यसले तपाईंको व्यक्तिगत र सामाजिक जीवनलाई सन्तुलित राख्न मद्दत गर्दछ ।

–नकारात्मक सोच र उदासीनता
बालबालिकाहरूमा लामो समयसम्म घर बस्दा समय धेरै भएर वा अभिभावकले आफ्नो चाहना र आवश्यक्ता पूरा नगर्नाले निराश हुनु वा नकारात्मक सोच आउन सक्छ । यसबाट बच्न अध्ययनमा वा काममा व्यस्त रही आत्मविश्वास बढाउने र सकारात्मक सोच राख्ने प्रयास गर्नु पर्दछ ।

निष्कर्ष
विद्यालयमा हुने लामो विदामा विद्यार्थीहरूले आफ्नो व्यक्तिगत र अध्ययन जीवनलाई सन्तुलित बनाउन सक्नुपर्छ । सही योजना, अनुशासन र सकारात्मक सोचले विदालाई सफल र फलदायी बनाउन मद्दत गर्दछ । आफूलाई निरन्तर नयाँ ज्ञान र सीप सिक्न प्रेरित राख्नु र स्वास्थ्यलाई ध्यानमा राख्नु आवश्यक छ । यसले भविष्यमा सफलता र समृद्धिको मार्ग खोल्नेछ । विद्यार्थीहरूमा बढ्दो प्रविधिको प्रयोग आजको समयमा एउटा महत्वपूर्ण र आवश्यक विषय बन्न पुगेको छ । प्रविधिले शिक्षालाई सहज, छिटो र आकर्षक बनाउन मद्दत गरेको छ । अनलाइन कक्षा, शैक्षिक एप्स, भिडियो ट्यूटोरियल र डिजिटल पाठ्यक्रमले विद्यार्थीहरूलाई घरमै बसेरै अध्ययन गर्न सम्भव बनाएको छ । यसले शिक्षामा पहुँचलाई व्यापक बनाउने र परम्परागत शिक्षण विधिहरू भन्दा फरक र नवीन अनुभव प्रदान गर्ने काम गरेको छ । साथै, प्रविधिको प्रयोगले विद्यार्थीहरूमा आत्म–अनुशासन, स्वाध्याय र आत्मनिर्भरताजस्ता महत्वपूर्ण सीपहरू विकास गर्न मद्दत गर्दछ । यसले विद्यार्थीहरूलाई विश्वसामु प्रतिष्पर्धात्मक बनाउने र नयाँ सोच, सिर्जनात्मकता र आविष्कारशीलता प्रवद्र्धन गर्ने अवसर पनि प्रदान गरेको छ ।

आजको यस जेन्जी पुस्तामा प्रविधिको अत्याधिक प्रयोगले धेरै बेफाइदाहरू पनि ल्याएको देखिन्छ । सबै विद्यार्थीहरूमा प्रविधिको पहुँच समान छैन, जसले शिक्षामा असमानता र अभावको स्थिति सिर्जना गर्दछ । साथै अनावश्यक रूपमा अनलाइनमा गेम खेलेर, फिल्म हेरेर, फेसबुक म्यासेन्जर युट्युव हेरेर मात्र समय विताउनाले मानसिक स्वास्थ्यमा समस्या, सामाजिक घुलमिलता र अन्तरक्रिया साथै अफन्त नाता गोतासमेत चिन्न नसक्ने हुनाले साच्चै नै धेरै नै चुनौतीहरू देखा पर्न थालेका छन् । प्रविधिको अति प्रयोगले विद्यार्थीहरूको अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन बनाउने र शारीरिक मानिसक स्वस्थ्यमा समेत हानि पुगिरहेको छ । यसैले, प्रविधिको प्रयोगलाई सन्तुलित र सिमित बनाउन आवश्यक छ, ताकि यसको फाइदा अधिकतम र बेफाइदाहरू न्यूनतम होस् । शिक्षालाई प्रविधि संगसँगै परम्परागत विधि पनि अंगाल्दै समावेशी र सन्तुलित सिकाइ प्रणाली विकास गर्नुपर्ने आवश्यक्ता रहेको छ । अन्तमा सृजनात्मक कामहरूमा ध्यान दिई विदाको सहि सदुपयोग गरी व्यक्तित्व विकासमा समय खर्च गरौं र सभ्य नागिरक बनौं ।

images
प्रकाशित मिति :आश्विन १६, २०८२ बिहिवार - ११:४९:०० बजे

 

विजय खड्का

खड्काले दैनिकीन्युजमा समसामयिक विषयवस्तुमा कलम चलाउछन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology