Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images

मुम्बईबाट उद्धार गरिएका दुई बालबालिकाको परिवारसँग पुनर्मिलन

मुम्बईबाट उद्धार गरिएका दुई बालबालिकाको परिवारसँग पुनर्मिलन

दैनिकी न्यूज

१४, कार्तिक २०८३
मुम्बईबाट उद्धार गरिएका दुई बालबालिकाको परिवारसँग पुनर्मिलन
images

विराटनगर । रोजगारी, घुमफिर तथा विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारतमा महिला तथा बालबालिकाको बेचबिखन र तस्करी हुने क्रम रोकिएको छैन । यसैबीच भारतका विभिन्न स्थानबाट बेचबिखन तथा तस्करीमा परेका सात जनाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ ।

किन इन्डियाको पहल तथा विभिन्न निकायको समन्वयमा तीन बालिका, २ बालक र एक महिलाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये २ बालिकालाई सर्लाही, १ बालक र १ महिलालाई धनुषाका जिल्ला प्रहरी कार्यालयमार्फत तथा २ बालबालिकालाई विराटनगरस्थित कोशी प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र (१०४ं) मार्फत परिवारको जिम्मा लगाइएको छ ।

यसैक्रममा दुई महिनाअघि विराटनगरबाट हराएका एक बालक र एक बालिकालाई भारतको मुम्बईबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए ।

बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, कोशी प्रदेश (१०४) को पहलमा गत कात्तिक ९ गते उनीहरूको पुनर्मिलन गरिएको हो। मुम्बई पुर्याइएका दुवै बालबालिकालाई किन इन्डिया र शुभअवसर ग्रामको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको थियो ।

सम्बन्धित निकाय तथा संस्थाहरूको सहकार्यमा नेपाल ल्याइएका उनीहरूलाई परिवारको जिम्मा लगाइएको हो । लामो समयदेखि सन्तानको खोजीमा रहेका परिवारका सदस्यले बालबालिका सुरक्षित रूपमा घर फर्किएपछि राहत महसुस गरेका छन् ।

किन इन्डियाका ग्लोबल संयोजक इन्द्रराज भट्टराईका अनुसार विभिन्न बहानामा महिला तथा बालबालिकालाई भारत पु¥याएर बेचबिखन तथा तस्करी गर्ने घटना अझै चुनौतीका रूपमा रहेको छ । यस्ता घटनामा परेकाहरूको उद्धार र पारिवारिक पुनर्मिलनका लागि विभिन्न निकाय तथा संस्थाबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

बालबालिका हराएमा परिवारले ढिलाइ नगरी सम्बन्धित निकायमा खबर गर्नुपर्ने हुन्छ । हराएका बालबालिकाको खोजतलास, सुरक्षा, संरक्षण तथा पारिवारिक पुनर्मिलनका लागि बाल हेल्पलाइन १०९८ र बालबालिका खोजतलास सेवा १०४ मा सम्पर्क गर्न सकिन्छ ।

समयमै गरिएको एउटा खबरले हराएको सन्तान घर फर्किन सक्छ। बालबालिका हराएको अवस्थामा आफैँ खोज्दै समय बिताउनुभन्दा तत्काल प्रहरी तथा सम्बन्धित निकायलाई जानकारी गराउनु आवश्यक छ ।

सन् २०१८ देखि मानव बेचबिखन र हालसम्म किन इन्डियाको पहलमा करीब १५०० नेपाली महिला तथा बालबालिकाको उद्धार गरिएको किन इन्डियाका ग्लोबल संयोजक भट्टराईले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १०:४७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology