काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई, कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय सार्वजनिक गर्ने बताएका छन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन) ले बिहिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले ३ वटा परिक्षाका विषयमा विभिन्न ३ विकल्पमा अध्ययन भइरहेको जानकारी गराउँदै आगामी साताभित्र निचोडमा पुगिने बताएका हुन् ।
अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए ।
मन्त्री पोखरेलले बन्दाबन्दीपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनले भने– ‘आगामी असार १ गतेबाट विद्यालय खोल्न खोजिएको होइन, तत्कालका लागि कसरी पठनपाठन गर्ने भन्ने विकल्पको अभ्यास गर्न लागिएको हो ।’
४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न ३ योजनाका साथ अगाडि बढ्ने, दशैँ अगाडि कसरी जाने र दशैँ पछाडि कसरी जाने भन्ने योजना बन्ने मन्त्री पोखरेलले बताए । ‘मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने स्पष्ट पार्दै भने– ‘पहिलो १५ दिनको काम हेरौँ । सबै विद्यार्थी त्यसबाट लाभान्वित भए त्यसलाई शैक्षिकसत्रसँग जोड्न सकिन्छ र त्यसले औपचारिक मान्यता पनि पाउनसक्छ ।’