ललितपुर । १७ जेठमा इमाडोलस्थित किस्ट मेडिकल कलेज, अस्पतालमा कार्यरत नर्स हिरा मगरलाई सातदोबाटोमा रहेको आफ्नै कोठामा स्थानीयले बस्न नदिएपछि अस्पतालमै फर्केर रात विताईन ।
१६ जेठमा कोरोनाको उपचारका क्रममा ललितपुर बुङमतिका ५७ वर्षिय एक पुरुषको मृत्यु भएपछि उनी कार्यरत अस्पतालबाट कोठामा बस्न स्थानीयले रोकेका हुन् ।
अस्पतालको एन आइ सि यू (बच्चाको आईसियू) मा कार्यरत नर्स मगरलाई ललितपुर महानगरपालिका १७ बाफल, खुश्वुटोलको कोठामा प्रवेश गर्न स्थानीयले रोकेपछि उनी दुईदिसम्म अस्पतालमै रात विताउन बध्य भएको बताइन । उनी कोरोना संक्रमित भएर मृत्यु भएको पुरुषको उपचारमा समेत संलग्न थिइनन् ।
फरक विभागमा काम गरेपनि स्थानीयबाट कोठामा जान रोकिएपछि उनी कोठामा एक्लै रहेको भाईको चिन्ताले पिरोलिइन । डडेलधुरा घर भएकी २४ वर्षीया मगरले किस्टमा काम गर्न थालेको २ वर्ष भएको छ ।
आफूसँग स्थानीय बासिन्दाहरुले पिसिआर रिपोर्ट माग्नुको साथै १४ दिन क्वारेन्टिनमा नबसी आउन नपाउने चेतावनी दिएको मगरले गुनासो गरिन ।
स्थानीयले कोठामा बस्न नदिएपछि भोलिपल्ट स्थानीय जनप्रतिनिधि, प्रहरी, अस्पतालका प्रतिनिधि, प्रहरी लगायतको बैठक बस्यो ।
बैठकमा नर्सलाई कोठामा बस्नको लागि आरडिटी परीक्षण गरेर नेगेटिभ आएको कागजपत्र बनाउनुपर्ने बताइयो ।
अस्पतालले आरडिटीलाई प्राथामिकता नदिन आग्रह गर्याे । तर, स्थानीयले नमानेपछि ३ दिनदेखि ती नर्स अस्पतालमै बसिरहेको बताईन ।
‘अस्पतालमा खटिने व्यक्तिहरुलाई कोठामा जान रोकेपछि उपचार गर्न कसरी हौसला आउँछ ?’ नर्स मगरले प्रश्न गरिन, ‘स्थानीयहरुले किन त्यसो गरेका हुन मैले बुझेको छैन ।’ स्थानीय जनप्रतिनिधि समेत सहयोगी नभएको उनले गुनासो गरिन ।
सो वडाका वडाध्यक्ष विनोद महर्जनले नर्सलाई कम्तिमा आरडिटी गरेको रिपोर्ट ल्याउन सुझाव दिएको बताए । ‘त्यो पनि नभए हस्पिटलको लेटरप्याडमा भएपनि नर्स कोरोना संक्रमितको उपचारमा संलग्न नभएको पत्र बनाए त भइहाल्यो भनेर भनेको छु, महर्जनले भने ।
स्थानीयले आफ्नो भाइलाई समेत तनाव दिएको नर्स मगरले गुनासो गरिन । ‘मेरो कोठामा पुगेर तिम्रो दिदीलाई यहाँ बस्न नदिने भनेछन’, उनले भनिन, ‘मलाई भाइले फोन गरेर भन्यो, अस्पताल भन्दा सुरक्षित कोठामा हुने देखेर गएको म राती नै फर्कनुपर्यो ।’
‘म कोठामा आएको देखेर टोलका २५ देखि ३० जना मानिस आए र नबस्न चेतावनी दिए,’ उनले थपिन ।
सरकारले अत्यावश्यक सेवामा खटिएका व्यक्तिहरुलाई कुनै पनि अवरोध नगर्न सचेत गराएपनि ललितपुरमा त्यसको कार्यान्वयन भएन । अहिलेसम्म जिल्लामा जम्मा संक्रमित ३ जना भएका छन्, त्यसमध्ये एकजनाको मृत्यु भएको छ । तर, अहिले नै कोठामा बस्नेहरुलाई यसरी तनाव दिइन्छ भने भोलीको अबस्था के होला ? उनले प्रश्न गरिन ।