Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं महानगरपालिकाद्वारा रेडियो शिक्षा कार्यक्रम शुरु, मेट्रो एफएमलाई अनुमति प्रदान

काठमाडौं महानगरपालिकाद्वारा रेडियो शिक्षा कार्यक्रम शुरु, मेट्रो एफएमलाई अनुमति प्रदान

दैनिकी न्यूज

२९, जेठ २०७७
काठमाडौं महानगरपालिकाद्वारा रेडियो शिक्षा कार्यक्रम शुरु, मेट्रो एफएमलाई अनुमति प्रदान
images

काठमाडौं । लकडाउनको समयमा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई घरबाटै पठनपाठन गराउन काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम शुरु गरेको छ । कामपाले मेट्रो एफएममार्फत बुधबारबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा कार्यक्रम शुरु गरेको हो ।

कामपाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले मेट्रो एफएम ९४ विन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गरेका हुन् । “मुलुकमा जारी लकडाउनका कारण नियमित पठनपाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थीलाई वैकल्पिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कामपाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा शुरु गरेको हो”, प्रमुख शाक्यले भने, “कोभिड–१९ को सङ्क्रमण र रोकथाम नियन्त्रणका लागि जारी लकडाउनका कारण विद्यालयमा शैक्षिक कार्यक्रम अहिले बन्द रहेकाले वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो ।

प्रमुख शाक्यले लडकडाउनका कारण शिक्षक, विद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उनीहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिविधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताए । कामपाले शुरु गरेको रेडियो शिक्षामार्फत महानगरपालिकाभित्रका ९१ सामुदायिक विद्यालय, तीन विशेष विद्यालय र ६४३ संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरूपमा लाभान्वित हुने शाक्यले बताए ।

मेट्रो एफएम ९४ विन्दु ६ मेगाहर्जको पहुँच रहेका छेउछाउका नगरपालिका र जिल्लाका विद्यार्थी पनि यो शिक्षाबाट लाभान्वित हुनेछन् । रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ । कामपा शिक्षा विभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अङ्ग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसङ्ख्या र वातावरण, पेशा व्यवसाय र प्रविधि विषय समावेश गरिएका छन् । यसैगरी कक्षा १ को एकीकृत पाठ्यक्रम अनुसारका नेपाली, अङ्ग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश छन् ।

नियमितरूपमा तत्काल विद्यालय सञ्चालन गर्न नसकिने भए पनि शिक्षा मन्त्रालयले सबै स्थानीय र प्रदेश सरकारलाई पनि वैकल्पिक माध्यमबाट पठनपाठन गराउन गरेको आग्रह अनुरुप कामपाले कक्षा शुरु गरेको हो । यी कक्षा शनिबारबाहेक हरेक दिन बिहान ९ देखि साँझ ६ बजेसम्म सुन्न सकिनेछ । नियमितरूपमा विद्यालय सञ्चालन नभएसम्म यस कक्षा सञ्चालन गरिने छ । रासस

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०६:५९:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology