काठमाडौं । कोभिड–१९ संक्रमणका कारण देखाएर निजी विद्यालय संचालकहरूले त्यहाँ कार्यरत शिक्षकहरूको तलब विगत ६ महिनादेखि निकासा बन्द गरेका छन् । जसका कारण निजी विद्यालयका शिक्षकहरूको जिविका धान्नै मुस्किल परेको पिडित शिक्षकहरू बताउँछन् । कोभिडकै निहुँमा तलब रोक्का मात्र होइन निजि विद्यालयहरूले कार्यरत शिक्षकहरूलाई समेत विद्यालयबाट निस्कासन गरेका छन् । जसका कारण निजी विद्यालयका देशभरिबाट तीन सय शिक्षकहरू बेरोजगार बनेका छन् ।
निजी विद्यालय संचालकहरूले अब पनि तलब निकासा नदिए शिक्षा मन्त्रालय परिसरमै गएर आत्मदाह गर्ने चेतावनी संस्थागत विद्यालयका पिडित शिक्षकहरूले दिएका छन् ।
निजीमा कार्यरत इटहरीका शिक्षक जेपी काफ्लेले आफुले पठनपाठन गराएको स्कुलबाट माघ महिनादेखिको तलब पाएका छैनन । उनको श्रीमति मुटु रोगी छिन् । औषधीकै सहारामा उनी बाचेकि छिन् । ‘जोगाएको पैसाले श्रीमतिको औषधोपचार गर्दै आएको छु,’ शिक्षक काफ्लेले भने, ‘६ महिनादेखि तलब नपाउँदा रितिएको छु । अब बाकी रहेको पैसा नि सक्यो ।’ उनले थपे, ‘अब पनि तलब नपाए जिविका धान्नै मुस्किल पर्छ । सरकारले तत्तकाल निकर्ष नदिए ठूलो दुर्घटना हुन्छ ।’
निजी विद्यालयहरूले हाल शिक्षकहरूलाई तलब नदिएकै कारण युवा शिक्षकहरूमा निराशा छाएको छ । नेपालगन्जका शिक्षक मनोज सुनुवारले पनि आफुले पठनपाठन गराएको स्कुलबाट तलब नपाउँदा निराश बनेका छन्। उनको २ वर्षे बालकको लालनपालन गर्न चुनौति थपिएको छ । ‘श्रीमती गृहस्थ सम्हाल्छिन्,’ शिक्षक सुनुवारले नागरिकसँग गुनासो गरे, ‘मेरै तलबले घर चलेको छ । त्यो तलब पनि नपाउँदा बालबच्चाको लालनपालन गर्न निकै धौधौ परेको छ ।’ उनले थपे, ‘स्कुललाई तलब माग्न सम्पर्क गर्दा समेत संचालकहरू सम्पर्कविहिन हुन्छन् ।’
संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भोला चालिसे पनि आफुले पठनपाठन गराउँदै आएको स्कुलले नियुक्ति पत्र समेत नदिएको बताउँछन् । उनले पनि लकडाउन अवधिको तलब नपाएकोले जिविका चलाउन चुनौति थपिएको बताए । डिल्ली बजारको टाइम्स माविका शिक्षक चालिसेको रोजगारी समेत गुम्ने जोखिम रहेको उनको भनाई छ ।
नागरिक दैनिकमा रूबी रौनियारले लेखेका छन् ।