सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. ८ बाहुनतिल्पुङका एक शिक्षक शनिबार अपहरणमा परेका छन् । अज्ञात समूहको अपहरणमा परेको ४ घण्टापछि स्थानीयले घेराबन्दी गरेपछि उनी अपहरणमुक्त भएका छन् । बाहुनतिल्पुङ स्थित तिल्पुङडाँडामा रहेको भिमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका नारायण प्रसाद भण्डारीलाई विहान अज्ञात समूहले बाटोमा हिँड्दै गर्दा अपहरण गरेका थिए ।
विहान साढे ९ बजे अपहरणमा परेका भण्डारी स्थानीयको सक्रियतामा साढे एक बजे अपहरणमुक्त भएका हुन् । उनलाई विद्यालयबाट घरतर्फ जाँदै गर्दा १५ जनाको समूहमा आएका अपरिचित व्यक्तिले अपहरण गरेर लाँदै गर्दा प्रहरी र स्थानीयबासीले घेराबन्दी गरी अपहरणमुक्त गराएका थिए ।
विप्लव माओवादीका कार्यकर्ता बताउने ती अपहरणकारीलाई स्थानीयबासीले घेराबन्दी गरेका भए पनि प्रहरी देखेपछि घेरा तोडेर भागेका थिए । घेरा तोडेर भाग्न खोज्ने एकजनालाई भने प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अपहरणकारीको चौतर्फी घेराबन्दी गरि खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । शिक्षक भण्डारीलाई के कारणले अपहरण गरियो भन्ने विषयमा भने केहि पनि नखुलेको जिल्ला प्रहरी कार्याय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताएकी छिन । उनीहरु को हुन र किन अपहरण गरे भन्ने बारेमा खुल्न नसकेको र अनुसन्धानमै रहेको सिग्देलले बताएकी छिन । उनीहरुसँग भएको एक शंकास्पद वस्तु समेत प्रहरीले वरामद भएको गरेको छ । राजधानी दैनिकमा बिमला पाण्डेले लेखेकी छिन् ।