काठमाडौं । बिहीबार विभिन्न प्रयोगशालामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गर्दा थप १४९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म ९ लाख ५५ हजार ९२३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५६५ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ९ हजार ८२३ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४५७ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ५० हजार ४११ छ ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर २३२ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २८ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले १७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।