काठमाडौं । नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ३० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १५ सय जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ । सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख ३१ हजार ४१ भएको छ । २४ घण्टामा ५ हजार १ सय ८१ पीसीआर परीक्षण भएको छ । देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २५८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।