Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबारदेखि ‘भीओएलटीई’ सेवा परीक्षण गर्दै टेलिकम

सोमबारदेखि ‘भीओएलटीई’ सेवा परीक्षण गर्दै टेलिकम

दैनिकी न्यूज

२, जेठ २०७८
सोमबारदेखि ‘भीओएलटीई’ सेवा परीक्षण गर्दै टेलिकम
images

नेपाल टेलिकमले सोमबारदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) सेवा परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी/एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय आईटीयू डे (मे १७) अर्थात् यही सोमबारदेखि परीक्षण सुरु गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।
प्रयोगकर्ताका लागि परीक्षण सुरु गर्नुअघि टेलिकमले भीओएलटीईका लागि उपयुक्त मोबाइल सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ । गत पुसदेखि नै भीओएलटीई चल्न सक्ने मोबाइलका सम्बन्धमा कम्पनीले बारम्बार परीक्षण गर्दै आएको थियो । “अब भने प्रयोगकर्ताकै तहमा यो सेवा परीक्षण हुनेछ,” अधिकारीले भन्नुभयो, “देशैभरका फोरजी प्रयोगकर्ताले सेवा लिन सक्नेछन् । ” यो परीक्षण भीओएलटीईको व्यावसायिक सुरुवातका लागि महŒवपूर्ण हुने उहाँले बताउनुभयो ।

प्रयोगकर्तालाई के फाइदा ?
टेलिकमले उपलब्ध गराइरहेको फोरजी नेटवर्कमा अहिले इन्टरनेट मात्र प्रयोग गर्न सकिन्छ । फोरजी सेवा लिइरहेका ग्राहकले फोन गर्दा त्यो स्वतः थ्रीजी नेटवर्कमा परिणत हुनेगर्छ । यसले गर्दा फोरजी सेवा सुरु भइसक्दा पनि भ्वाइसमा ग्राहकले कुनै भिन्नता पाउन सकेका छैनन् ।
अब भने परीक्षणकै क्रममा कम्पनीका ग्राहकले फोरजी नेटवर्क नै प्रयोग गरेर भ्वाइस कल गर्न सक्नेछन् । यसरी भ्वाइस कल गर्दा त्यो आवाजको गुणस्तर एचडीस्तरको हुने टेलिकमको दाबी छ । “भीओएलटीईमा व्यक्ति–व्यक्ति भेटेरै कुराकानी गरेजस्तो उच्च गुणस्तरीय भ्वाइस सेवा पाउन सकिन्छ,” अधिकारीले भन्नुभयो । यसबाहेक कल सम्पर्क पनि तुरुन्त स्थापित हुने सुविधा यसमा हुने उहाँले जानकारी दिनुभयो ।
आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने विशेषता भीओएलटीईमा हुन्छ । टुजीको तुलनामा भीओएलटीर्इैो भ्वाइस गुणस्तर छ गुणा र थ्रीजीको तुलनामा तीन गुणा राम्रो हुनेगर्छ ।
फोरजीका लागि टेलिकमले प्रयोग गरिरहेको आठ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीकोे ‘कभरेज’ क्षेत्र पनि बढी हुने भएकाले नेपालजस्तो ग्रामीण र विकट क्षेत्रमा यो सेवा निकै उपयोगी हुनेछ ।
उक्त ब्यान्डको फ्रिक्वेन्सीको पहुँच रहेको क्षेत्रमा टुजी अथवा थ्रीजी नेटवर्क नभए पनि सम्बन्धित क्षेत्रका स्थानीयवासीले फोरजी प्रविधिको डेटा र भ्वाइस सेवा उपयोग गर्न पाउने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । “यसअघि फोन नै नलाग्ने जङ्गल क्षेत्रमा पनि अब सजिलै फोन गर्न सकिने र उच्च गुणस्तरको डेटा प्रयोग गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
भीओएलटीई प्रयोगकर्ताले कल गरिरहेकै अवस्थामा पनि उच्च गुणस्तरको डेटाको अनुभव गर्न सक्नेछन् । फोन गर्दा अन्य नेटवर्कमा स्विच भइराख्ने अहिलेको परिस्थिति अन्त्य हुँदा मोबाइलको ब्याट्री लाइफ बढेको अनुभव पनि प्रयोगकर्ताले लिन सक्नेछन् ।

सेवा कसरी लिने ?
टेलिकमको भीओएलटीई सेवा लिन सबैभन्दा पहिला तपाईंको मोबाइल सेटमा स्टार एकएकएक एह्यास (*१११#) डायल गर्नुपर्छ । यसरी डायल गर्दा त्यहाँ तीनवटा विकल्प आउनेछन् । जसमध्ये सबैभन्दा माथि फोरजी सेवा सुरु गर्ने विकल्प हुनेछ ।
भीओएलटीई प्रयोग गर्न यो सेवा सुरु गर्नुपर्नेछ । त्यसपछि दोस्रो नम्बरमा भीओएलटीई सेवा सुरु गर्ने विकल्प हुनेछ । सो नम्बर राखेर यो सेवा लिन सकिन्छ । यो सेवा नलिएको भए त्यसमै डायल गरेर तेस्रो नम्बरमा रहेको ‘डिएक्टिभेट भीओएलटीई’ भन्ने विकल्प छनोट गर्नुपर्नेछ ।
टेलिकमका अनुसार भीओएलटीई सेवा लिन आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु भने अनिवार्य छ । केही भारतीय मोबाइल सेटमा आठ सय मेगाहर्ज ब्यान्ड सपोर्ट नगर्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको फोरजी सेवा लिन कतिपय ग्राहक असमर्थ भइरहेका छन् । त्यसैले कम्पनीले फोरजी अथवा भीओएलटीई सेवा लिन आठ सय र १८ सय दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको छ ।

-गाेरखापत्र

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - ०८:२३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology