ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको बताएका छन् । बुधबार ललितपुरमा नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको र विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारी रहे पनि संघीय सरकारले स्रोत साधान र कार्यक्रमसहित विद्यालय शिक्षाको बिकासमा सहयोग गरिरहेको उनको भनाइ छ । उनले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा लाग्न आग्रह पनि गरे । उनले भूकम्पपछि क्षतिग्रस्त भएका अधिकांश विद्यालय पुनर्निर्माण भइसकेको भन्दै बाँकी विद्यालय पनि छिटै पूनर्निर्माण हुने बताए । विद्यालयहरुको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ।
त्यस्तै उर्जा तथा जलस्रोत, सिचाई मन्त्री पम्फा भुसालले ललितपुर जिल्ला शिक्षाको हब रहेको उल्लेख गर्दै यहाँ सञ्चालित सरकारी विद्यालयहरुले राम्रो नतिजा ल्याएको बताइन । भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रुपले सञ्चालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपले अघि बढाइरहेको बताइन् । भूकम्पको महाविपत्तिले पुनर्निर्माणको कामलाई अघि बढाउन र कोरोनाको विपद्ले सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न ठूलो पाठ सिकाएको पनि उनले स्मरण गरिन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको भन्दै पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए ।
जापानको ऋण सहयोगमा रु १२ करोड तीन लाखको लागतमा सो विद्यालय निर्माण गरेको हो । प्राधिकरण अन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म ६ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेका छन् ।
हाल सो विद्यालयमा ९७२ जना अध्ययनरत रहेका छन् । कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महत राखेका थिए । कार्यक्रमको सभापति सुदर्शन मिश्र थिए ।