काठमाडौं । सरकारले आगामी वैशाखमा विद्यालय तहको वार्षीक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। आउँदो शैक्षिक सत्रको पढाई जेठ १ गतेदेखि सञ्चालन गर्नेगरी वैशाखमा परीक्षा सञ्चालन गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाखभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार, कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकोले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षीक परीक्षा सक्ने निर्णय गरिएको हो।
यसकारले यस वर्षको एसईई परीक्षा आउँदो वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
स्थानीय तहले सञ्चालन गर्ने कक्षा १ देखि ९ सम्मका सबै परीक्षा वैशाखमा सक्ने निर्णय सरकारले गरेको हो।
स्थानीय तह चुनावका कारण विद्यालयहरू बन्द गर्नेपर्ने तथा कतिपय शिक्षकहरू चुनावमा खटिनुपर्ने भएकाले चुनावमा खटिने समयअघि नै नयाँ शैक्षिक सत्रअघि सम्पन्न गर्नुपर्ने सबै तयारी पूरा गर्ने पनि शिक्षा मन्त्रालयले जनाएको छ ।