ललितपुर । ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटलले बिरामीहरुको सुविधालाई ध्यानमा राखेर यहि श्रावण ६ गतेदेखि न्युरो सर्जन डा. शिखर श्रेष्ठको टिमले एक्युट स्ट्रोक युनिट वल्र्ड ब्रेन डेको अवसरमा शुरु गर्न लागेको छ ।
मस्तिकघातको कारण प्यारालाईसिस भएर मानिसको जीवन अस्तव्यस्त भएर दिर्घकालिन पिडा भोग्नु परेको अवस्थालाई मध्यनजर गरी मस्तिष्क पक्षघातको वा प्यारालाईसिसको लक्षण देखिना साथ ४ घण्टा भित्र अस्पतालमा आउन सकेमा औषधीबाट यसको उपचार सकिने हस्पिटलका प्रशासक प्रकाश कुमार भट्टराईले बताए ।
उनका अनुसार उक्त समयमा आउन नसके २४ घण्टा भित्र अस्पताल आउन सकेमा रगतको नलिमा तार छिराएर रगतको नसामा जमेको थेग्लो निकाली पक्षघात हुनबाट बचाउन सकिन्छ ।
स्नायु कोषिकाहरुमा क्षति भई मस्तिष्कमा पोषण र अक्सिजनको मात्रा कम भएर हुनसक्ने समस्यालाई मस्तिष्कघात भनिन्छ ।
मस्तिष्कमा रगत आपूर्ति गर्ने स्नायु कोषिकाहरु अवरोध भएमा वा फुटेमा मस्तिष्कघात हुनेगर्छ । मस्तिष्कघातले प्यारालाईसिस मात्र नभई स्नायु कोषिकाहरुमा स्थायी क्षति पु-याएर व्यक्तिको ज्यानसमेत लिनसक्छ ।
मस्तिष्कमा १०० बिलियन कोशिकाहरु हुन्छन् । मस्तिष्कघातले रक्तनसा बन्द भई उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख ब्रेनका कोशिका मर्दछन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपतकालीन स्वास्थ्य समस्या) भनिन्छ । मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर (इस्केमिक स्ट्रोक) वा मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनीहरु फुटेर (ह्मामरेजिक) मस्तिष्कघात हुने गर्छ ।
मस्तिष्कघात कसलाई कुनबेला हुन सक्छ भन्ने नजर अन्दाज गर्न कठिन पर्छ । यद्मपी ५० बर्ष पुरा नाघेका, उच्चरक्तचाप भएका, धुम्रपान सेवन गर्ने, मधुमेह, उच्च कोलेस्टेरोल, तनाबपुर्ण जीवन शैली, मुटु र रक्तसंचार सम्बन्धी समस्या, परिवारमा मस्तिष्कघातको समस्या भएका व्यक्तिहरु मस्तिष्कघात हुने उच्च जोखिममा रहेका छन् । शारिरीक सन्तुलन गुम्ने, आखां धमिलो हुने, अनुहार बांगिने, हातखुट्टा लुलो हुने, बोली लरबराउने समस्या देखिएमा समय खेर नफाली तत्काल अस्पताल पुर्याउन चिकित्सकहरुले सल्लाह दिएका छन् ।
यसरी मस्तिष्कको नसामा रगत जमेर रक्तसंचार कम भएमा थ्रोम्बोलाईसिस र ईन्डोभास्कुलर विधिबाट बिरामीको उपचार शुरु गर्नुपर्छ । यसरी २४ घण्टा भित्र बिरामी आईपुगेको अवस्थामा न्युरो इन्ट्रोभेनिस्ट द्वारा मेकानिकल थ्रोम्वेक्टोमीबाट बिरामीलाई जोगाउन सकिन्छ । साथै स्ट्रोको कारण मस्तिष्कमा सुजन वा सुनिएमा न्युरो सर्जनद्वारा शल्यक्रियाको माध्यमबाट पक्षघातको दिर्घकालीन असरबाट आंशिक वा पुर्ण रुपमा बचाउन सकिन्छ ।
सर्जरी पछि पनि रोगीलाई पुर्नस्थापना गर्ने कार्य समेत गरी रोगीलाई आफ्नो गद गरेको काममा फर्कन सक्ने क्षमता विकास गराईन्छ ।
हस्पिटलले मस्तिष्क पक्षघातको वा पारालाइसिसको लक्षण देख्ना साथ सजग भई उपचारको लागी समयमै अस्पताल आउनु भई पक्षघातबाट जोगिन जोखिमबाट बच्न जानकारी गराएको छ ।