Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर तयारी

कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर तयारी

दैनिकी न्यूज

२९, श्रावण २०७९
कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर तयारी
images

काठमाडौं । पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ ।

‘दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘निर्णय भने गर्न बाँकी छ, कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’

पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको र संक्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोजको विकल्प’ छलफल भएको ती अधिकारी बताउँछन् ।

पछिल्लो एक महिनाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु भएमध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले कोरोना खोप नलगाएको भेटिएको छ ।

खोप नलगाएकोमा गम्भीर संक्रमण देखिएकोसमेत पाइएको छ । यी सबै विषय दृष्टिगत गर्दै मन्त्रालयले खोपलाई प्राथमिकतामा राखेको हो ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट सुरु भएको महामारीको तेस्रो लहर नेपालमा आएपछि बुस्टर डोज अभियान सुरु भएको थियो । पहिलो चरण्मा ‘फ्रन्टलाइनर’ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, पत्रकार, कामदारलगायतलाई बुस्टर डोज सञ्चालन गरेको थियो । साथै, अस्पताल भर्ना भएका ज्येष्ठ नागरिक र गम्भीर रोग लागेका बिरामीलाई प्राथमिकतामा राखेर बुस्टर डोज लगाइएको थियो ।

खोप र प्राकृतिक संक्रमणबाट प्राप्त हुने रोग प्रतिरोधात्मक क्षमता ६ महिनापछि कम हुने अध्ययनले देखाएको छ । पहिलो चरणमा बढाइएको व्यक्तिको समूहका लागि, बुस्टर सटबाट व्युत्पन्न भाइरसको प्रतिरोधलाई पहिले नै तटस्थ गरिएको हुन सक्ने चिकित्सक बताउँछन् ।

तर, परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालका अनुसार विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी रणनीतिक समूहले हालसम्म दोस्रो बुस्टर डोज’ केही बोलेको छैन ।

त्यसो त, यसअघि राष्ट्रसंघीय स्वास्थ्य निकायको खोपसम्बन्धी रणनीतिक सल्लाहकार समूहले निर्णय गर्नुअघि नै नेपालले बुस्टर सट अभियान सुरु गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले इजरायलमा ‘केयर गिभर’मा जाने कामदारका लागि भने दोस्रो बुस्टर डोज दिइसकेको छ । पहिलो पाँच महिनाअघि बुस्टर डोज लगाएकाका लागि इजरायल जानुअघि दोस्रो बुस्टर दिइसकेको छ ।

नेपालमा पहिलोपटक ९ माघ २०७६ मा संक्रमण पुष्टि भएको थियो । दोस्रो संक्रमित १० चैतमा देखियो । दोस्रो संक्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी गरेको थियो ।

कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) शनिबारसम्म १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्ररूपमा वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ । यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - ०६:१७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology