Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्राणघातक रोग निम्त्याउनेमा वायु प्रदुषण धुम्रपान भन्दा बढि घातक

प्राणघातक रोग निम्त्याउनेमा वायु प्रदुषण धुम्रपान भन्दा बढि घातक

दैनिकी न्यूज

७, आषाढ २०८०
प्राणघातक रोग निम्त्याउनेमा वायु प्रदुषण धुम्रपान भन्दा बढि घातक
images

ललितपुर । प्राणघात रोग निम्त्याउनेमा वायु प्रदुषण धुम्रपान भन्दा बढि घातक भएको वताइएको छ । स्वच्छ हावाको लागि नागरिक हस्तक्षेप बिषयक अन्तरक्रिया हाका–हाकी बहसमा वातावरणविद्, फोक्सो तथा सघन उपचार विशेषज्ञ डक्टर, वातावरण वैज्ञानिक लगायतले वातावरण प्रदुषणले मानव स्वास्थ्यमा पार्ने असरहरुका वारेमा चर्चा गर्दै वातावरण प्रदुषण धुम्रपानभन्दा पनि प्राणघातक भएको वताएका हुन् ।

गत मंगलबार नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले यहाँ आयोजना गरेको अन्तरक्रियामा वातावरण प्रदुषणले मानव स्वास्थ्यमा पारेको असरहरुका वारेमा तथ्यांक प्रस्तुत गर्नुहुँदै फोक्सो तथा सघन उपचार विशेषज्ञ डक्टर रक्षा पाण्डेले विभिन्न रोगहरु लाग्नेमा विश्वमा चौथो र नेपालमा दोस्रो कारक तत्व हावा प्रदुषण रहेको जनाए । ‘विभिन्न रोगहरु लाग्नेमा विश्वमा चौथो र नेपालमा दोस्रो कारक तत्व हावा प्रदुषण पर्दछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार गत २० वर्षमा नेपालमा ६८ प्रतिशत प्रदुषण बढेको छ ।' डक्टर पाण्डेले भने, 'वायु प्रदुषण बच्चाहरुको ब्रेन ड्यामेज गराउने, दिमागको विकासक्रमलाई सुस्त गराउने महत्त्वपूर्ण कारक हो । प्रदुषणले मानिसहरुमा रोग बढाउने, रुघाखोकी छिटोछिटो लाग्ने, हृदय घात, क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढाउने गर्छ । धुम्रपान भन्दा वायु प्रदुषणले छिटो मानिसलाई रोग लाग्ने गरेको देखिन्छ ।' उनले विश्वमा ४० प्रतिशत र नेपालमा ५० प्रतिशतलाई वायु प्रदुषणले दम रोगी बनाएको प्रष्ट्याए । विश्वको तथ्यांकअनुसार वायु प्रदुषणले घाँटीको क्यान्सर हुने सम्भावना ३४ प्रतिशत रहेकोमा नेपालको सन्दर्भमा भने यस्तो तथ्यांक दोव्वरको हाराहारीमा रहेको उनको भनाई थियो ।

वातावरणविद भूषण तुलाधरका अनुसार काठमाडौं उपत्यकाको भित्री शहरहरुमा सवारी आवागमन नियन्त्रण गर्ने नीति ४८ वर्ष अगाडि लिएको भएपनि अहिले कार्यान्वयनमा आउन नसक्नु वायु प्रदुषणका लागि चुनौती रहेको छ। 'काठमाडौं उपत्यकाको भित्री शहरहरुमा सवारी आवागमन नियन्त्रण गर्ने नीति ४८ वर्ष अगाडि लिएको थियो । २५ वर्ष अघि सफा टेम्पो आएको थियो । तर पनि वायु प्रदुषणलाई नियन्त्रण गर्ने नीति प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । अहिले पनि ५१ प्रतिशत जनता दाउराबाट खाना पकाउँछन् । यसबाट पनि वायु प्रदुषण हुन्छ ।' वातावरणविद् तुलाधरले भने, 'काठमाडौं उपत्यकाभित्रका ईटाभट्टाहरुमा अझै सुधार गर्न सकिने अवस्था छ । यसका लागि समाधानको उपाय छ । सुधारिएको चुलोको अवधारणा आएको धेरै भएको छ । तर कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । हामीसँग नीति र नियम नभएको हैन । वातावरण संरक्षण र वायु प्रदुषण नियन्त्रणका लागि भएको नीतिगत व्यवस्थालाई कार्यान्वयन गरेर जानुपर्ने आवश्यकता छ ।'

वातावरण बैज्ञानिक उत्तमबाबु श्रेष्ठले वायु प्रदुषणले जनस्वास्थ्यमात्रै हैन, अर्थतन्त्र र जनजीविकामा समेत नकारात्मक प्रभाव पारेको वताए । 'वायु प्रदुषणले जनस्वास्थ्यमात्रै हैन, अर्थतन्त्र र जनजीविकामा समेत नकारात्मक प्रभाव पारेको छ । वितेको एक वर्षमा नेपालमा १३५ दिन मात्रै स्वच्छ हावा रहेको थियो । वायु प्रदुषणबाट वार्षिक ४२ हजार जनाको ज्यान जाने गरेको छ । यो महत्त्वपूर्ण मुद्दा हो ।' वातावरण बैज्ञानिक श्रेष्ठले भने, 'विश्व वैकको तथ्यांकअनुसार वायु प्रदुषणले कुल जिडिपीको १० प्रतिशत नोक्सानी पारेको छ । दक्षिण एसियाका ३७ वटा शहर प्रदुशित शहरमा पर्छन् । यसमा काठमाडौं पनि अग्रस्थानमै पर्छ । युनिभर्सिटी अफ सिकागोको तथ्यांकअनुसार वायु प्रदुषणले नेपालीहरुको आयू चार वर्ष घटाएको छ ।'

वायू प्रदुषण नियन्त्रण र स्वाच्छ हावाको लागि सरकारलाई जिम्मेवार बनाउन नागरिकको पक्षबाट हक र अधिकारको कानूनी पाटोको बारेमा चर्चा गर्नुहुँदै अधिवक्ता रोशनी गिरीले सुनिश्चित गर्ने दायित्व सरकारको भएको वताए । 'संविधानको धारा ३० मा उल्लेख भएअनुसार स्वच्च र स्वास्थ वातावरणमा बाँच्न पाउने अधिकार सबै नागरिकको छ । यसलाई सुनिश्चित गर्ने दायित्व सरकारको हो । सरकारलाई जिम्मेवार बनाउन हाम्रो पनि भूमिका छ ।' अधिवक्ता गिरीले भने, 'सरकारले गुणस्तर कायम गर्न कानूनी आधारहरु प्रयोग गरेर महत्त्वपूर्ण मापदण्डहरु लागू गर्नुपर्ने छ । वि.सं. २०५३ देखि नेपाल सरकारले १४ अर्व ८० करोड प्रदुषण कर उठाएको छ। यो सरकारी कोषमा जम्मा भएर रहेको छ । वातावरण संरक्षण, वायु प्रदुषण न्युनिकरण सरकारको प्राथमिकतामा परेन, सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा नआउनु दुखद हो ।' मानव अधिकार र वातावरणलाई एउटै रुपमा हेरिनुपर्नेमा अधिवक्ता गिरीले जोड दिए ।

images
प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - ०७:११:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology