Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शिक्षा र वर्तमान अवस्थाको सामुदायिक विद्यालयकोस्तर

शिक्षा र वर्तमान अवस्थाको सामुदायिक विद्यालयकोस्तर

कृष्णप्रसाद घिमिरे

२७, फाल्गुण २०८०
शिक्षा र वर्तमान अवस्थाको सामुदायिक विद्यालयकोस्तर
images

शिक्षाको अर्थ सामान्य भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भन्ने हुन्छ । शिक्षा संस्कृत भाषाको शिक्ष् धातुबाट उधृत गरिएको हो । जसको अर्थ सिक्नु वा सिकाउनु हुन्छ ।शिक्षा आदानप्रदान गर्ने प्रक्रिया प्राचीन कालदेखि चल्दै आएको छ। ‘विद्यालयको चौघेराभित्र रहेर दिईने ओैपचारिक शिक्षालाई मात्र शिक्षा हो ।’ भन्नुलाई शिक्षाको संकुचित रुपमा लिइन्छ भने ‘मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ’ भन्नु शिक्षाको व्यापक अर्थ हो । यसरी हेर्दा शिक्षा भनेको जीवन पर्यन्त चलिरहने प्रक्रिया हो जसअन्तर्गत व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक , भौतिक, नैतिक आदि सम्पुर्ण पक्षको वा व्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो । शिक्षाको केही बहुचर्चित परिभाषा अनुसार यसलाई अझै प्रष्ट पार्न सकिन्छ ।
‘पृथ्वीमा ज्ञानभन्दा शुद्ध केही छैन ।’ –भागवत गीता
‘आत्मानुभुती नै शिक्षा शिक्षा हो ।’ –शंकराचार्य
‘प्रत्येक मानिसको मस्तिष्कमा अदृश्य रुपले विधमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो ।’ –सुकरात
‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई चलाइ तिमी संसार बदल्न सक्छौं ।’ –नेल्सन मण्डेला

ज्ञान तथा सीप सिक्ने वा सिकाउने पद्धति नै शिक्षा हो शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । यो जन्मेदेखि नमरुन्जेलसम्म कुनै न कुनै रुपमा चलिरहेको हुन्छ। ‘शिक्षा नै जीवनको ज्योति हो ।’ शिक्षाविना मानव समाज विकसित हुन सक्दैन तसर्थ मैले यहाँ शिक्षाको सुरुवात कहिलेबाट भयो भन्ने विषयमा शिक्षाको विकासक्रमको बारेमा छोटो चर्चा गर्दछु ।

प्राचीनकालः प्राचीनकालमा शिक्षाको उद्देश्य विद्यार्थीलाई शारीरिक मानसिक र सामाजिक गुणको विकास गरि योग्य नागरिक बनाउनु हो । प्राचीनकालमा गुरुकुल शिक्षा प्रचलनमा रहेको थियो ।

मध्यकालः मध्यकालीन शैक्षिक व्यवस्थालाई हेर्दा तन्त्रशास्त्र , बौद्धधर्म , मुर्तिकला, चित्रलेखन आदिको राम्रो उन्नति भएको पाईन्छ । मध्यकालीन समयमा तन्त्रशास्त्र र बौद्धधर्म सोखिनहरुले लिन्थेभने चित्रलेखन तथा मुर्तिकला जीवन निर्वाहका लागि लिने शिक्षा अन्तर्गत थियो ।

राणाकालः जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० मा नेपालमा पहिलो अंग्रेजी विद्यालयको स्थापना गरेका थिए । त्यस विद्यालयमा त्यतिबेला राजाको छोराछोरी तथा राणाका सन्तानलाई मात्रै शिक्षा दिईन्थ्यो । राणाशासन कालको अन्तिम समयसम्म नेपालमा प्राथमिक विद्यालाय, माध्यमिक विद्यालाय , संस्कृत विद्यालय , र क्याम्पसहरु गरेर जम्माजम्मी करिब ३५० को हाराहारीमा स्थापना भएको थियो ।

आधुनिककालः वि.सं. २००७ सालमा नेपालमा राणा शासनकालको अन्त्य भई प्रजातन्त्र प्राप्ति भएपछि शिक्षा मन्त्रालयको स्थापना भयो र त्यस पछि नेपालमा तिब्र गतिमा विद्यालय स्थापना हुने क्रम बढ्यो र जनताको छोराछोरीले पनि शिक्षा प्राप्त गर्ने अवसर यहीँ कालमा प्राप्त भयो । वि.सं. २०२८ सालमा देशमा पहिलोपटक शिक्षा ऐन बन्यो र त्यसपछि देशका कुनाकन्दरा तथा दुरदराजका जनताले शिक्षा प्राप्त गर्ने अवसर मिल्यो ।

२१ अ‍ैँ शताब्दी विज्ञान र प्रविधिको युग हो । हाम्रो समाज तथा सिङ्गो देश विकास र समृद्धिको लागि पनि हामीलाई समयसापेक्ष शिक्षाको आवश्यकता पर्दछ । तसर्थ आजको आवश्यकता गुणस्तरीय शिक्षा हो ।व्यक्तिको बौद्धिक , शारीरिक , सामाजिक , आर्थिक , भौतिक , नैतिक सर्वाङ्गीण पक्षको विकास गराउने र विज्ञान प्रविधि र आविष्कारमा टेवा पुग्ने गुणस्तरीय शिक्षा प्रदान गरि दक्ष जनशक्ति देशभित्रै उत्पादन गर्नु अहिलेको मुख्य काम हो ।

हाल नेपालको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा निजी विद्यालयको तुलनामा कमजोर देखिन्छन् । सामुदायिक विद्यालयका शिक्षकलाई विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण, आदि प्रदान गरि शिक्षाको गुणस्तर उकास्ने पर्यन्त गरिँदै आए पनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन । शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा वर्षौदेखि वर्षैसाल राज्यले करोडौं रकम खर्च गर्छ तर पनि प्रतिफल निराशाजनक छ। सरकारी तथ्यांक हेर्दा निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीले प्राप्त गर्ने नतिजा कमजोर रहेको देखिन्छ । निजी लगानीमा सञ्चालित विद्यालयका शिक्षकले सामुदायिक विद्यालयका शिक्षकले जस्तो तालिम, गोष्ठी, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्मान गर्ने जस्तो अवसर पाएका हुँदैनन् र सरकारी विद्यालयमा जस्तो सरकारी अनुगमन पनि हुदैन तर पनि सामुदायिक विद्यालयको विद्यार्थीले प्राप्त गर्ने नतिजा भन्दा निजी लगानीमा सञ्चालित विद्यालयका विद्यार्थीले प्राप्त गर्ने नतिजा उत्कृष्ट रहेको छ ।

शिक्षा देशको भविष्य निर्मानको मेरुदण्ड हो । समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डोर्‍याउने मार्गदर्शन शिक्षा हो । हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्याँहाको शिक्षा प्रणालीले निर्धारण गर्छ । मानव समुदायलाई आधुनिकता सँगसँगै मानवीय उन्नति र प्रगतिलाई बदल्न शिक्षाले उत्प्रेरणा दिन्छ ।

राज्यको तीन तहका सरकारले शैक्षिक गुणस्तर वृद्धिका लागि हरेक वर्ष करोडौं करोड रकम खर्च गर्छ तर पनि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन सकेको छैन। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनुका बिबिध कारणहरु छन स्( ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुग्नु, पाठ्यपुस्तक पुगेपनि विषयगत तथा तहगत शिक्षकको अभाव हुनु, पर्याप्त मात्रामा शिक्षण सिकाइ क्रियाकलापका आवश्यक शैक्षिक सामाग्रीको व्यवस्था नहुनु, समय सापेक्ष प्रविधिको प्रयोग नहुनु, थरी थरीका शिक्षक हुनु, शिक्षक नियुक्ति तथा बढुवा सरुवामा राजनीति हावी हुन, समयसापेक्ष शिक्षा ऐन बन्न नसक्नु , शिक्षामा राजनिती हावी हुनु, समुदाय व्यवस्थापन समिति शिक्षकप्रति जिम्मेवारीबोध तथा अपनत्वको भावनामा कमि आउनु, पाठ्यक्रमको मुल उद्देश्य प्राप्तिका लागि सो अनुसारको शिक्षण सिकाइ नहुनु, शिक्षक तथा विद्यार्थीले पुर्ण रुपमा जिम्मेवारी पुरा नगर्नु, फितलो व्यवस्थापन तथा कमजोर सरकारी संयन्त्र रहेको छ ।

सामुदायिक विद्यालय सुघार गर्न हरेक वर्ष विभिन्न तहमा छलफल हुन्छ तर विद्यार्थीको सिकाइ सुधार हुन सकिरहेको छैन। शिक्षकलाई जवाफदेहिता, जिम्मेवारी र कर्तव्यबोध गराउन सकिएको छैन ।त्यसकारण पनि प्रभावकारी शिक्षण सिकाइ हुन सकिरहेको छैन । कक्षाकोठा व्यवस्थापन कसरी राम्रो बनाउने, कक्षामा विद्यार्थीलाई के पढाउने रु भन्ने योजनाबिनै शिक्षक कक्षामा प्रवेश गर्छन यस्ता क्रियाकलापले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा कमी भएको छ । शिक्षकले पढाउनेभन्दा पनि राजनिती गर्न व्यस्त हुने गलत परिपाटीले झनै सामुदायिक विद्यालयको शिक्षालाई पछाडि धकेल्न टेवा पुगेको छ।

यति भनिरहँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नै नसकिने भन्ने हैन । विशेषगरी ग्रामीण भेगका सामुदायिक विद्यालयले शैक्षिक सत्र सुरु हुनेबित्तिकै समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन सकेमा, विषयगत तहगत एवम् तालिमप्राप्त योग्य शिक्षकको राम्रो व्यवस्था गर्न सकेमा, शैक्षिक सामाग्री तथा समयसापेक्ष प्रविधिको प्रयोग गर्न सकेमा, शैक्षिक गुणस्तर सुधार गर्ने शिक्षकलाई पुरस्कार र कमजोर हुनेलाई आवश्यक तालिम दिएर, शिक्षक प्रधानाध्यापकप्रति प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिप्रति र समिति स्थानिय तहप्रति उत्तरदायी हुने हो भने र आवश्यक शिक्षा ऐन कानुन बनाई कडाईका साथ लागू गर्ने र समय समयमा अनुगमन गर्ने तथा शिक्षालाई राजनीति गर्ने मैदान नबनाई अगाडि बढ्ने हो भने अवस्य पनि सामुदायिक विद्धालयको शैक्षिक गुणस्तर कायम गराउन सकिन्छ ।

शिक्षा देश निर्मानको जग भएको हुनाले सामुदायिक शिक्षा प्रणालीमै आमूल परिवर्तनको जरुरी छ । पुरानै ढाँचामा हैन समयसापेक्ष परिवर्तन गरि कमीकमजोरी हटाएर राज्यको आवश्यकता र समयको माग अनुसारको जनशक्ति उत्पादन गर्ने शिक्षा लागू गर्नुको विकल्प छैन ।

सामुदायिक विद्यालयको अवस्था खस्किनुमा एक पक्षले अर्को पक्षलाई दोष लगाएर आफू राम्रो देखिन खोज्ने प्रवृत्ति गलत छ। अभिभावकहरु शिक्षकले राम्रो पढाएनन् भन्ने, शिक्षक विद्यार्थीले पढेनन्, गृहकार्य गरेनन् भन्ने, विद्यालय समयमा पूरा समय कक्षामा नबसि भागे भन्ने, अनुशासनमा बसेनन् भन्ने जस्ता कुरा गरेर विद्यार्थीलाईनै दोष लगाउने, विद्यालय व्यवस्थापन समितिले शिक्षक अभिभावक र विद्यार्थीलाई तालमेल गरि समन्वयकारी भुमिका खेल्न नसक्नु, अभिभावकले आफ्ना बालबच्चाले कस्तो पढे, गृहकार्य गरे गरेनन् नहेर्नु, विद्यालय गए गएनन् नहेर्नु, अनुशासन कस्तो छ नहेर्नु र विद्यालयमा समय समयमा निरिक्षण गर्न नसक्नु पनि शैक्षिक स्तर खस्कनुको मुख्य कारण हो ।

सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुमा विद्यार्थीको संख्या तिब्र गतिमा घट्दै गएको छ। पछिल्लो समय अभिभावक तथा विद्यार्थीहरुमा सामुदायिक विद्यालयप्रति विस्वास घट्दो क्रममा रहेको छ । यसको कारण सामुदायिक विद्यालयमा शिक्षण पेशा गर्ने शिक्षकले नै आफ्नो बालबच्चा सहरको सुबिधासम्पन्न निजी विद्यालयमा पढाउने र आफुभने सामुदायिक विद्यालयमा पढाउने र सरकारी सेवा सुविधा लिने प्रवृत्तिले शिक्षकप्रति अभिभावकले आसङ्का गर्ने गरेका छन। शिक्षकलाई नै आफैंप्रति विश्वास नलागेर आफ्ना बच्चा सहर लगेर सहरका निजी विद्यालयमा पढाउन लैजान्छन भने हामी किन हाम्रो बच्चालाई यिनीहरुसँग पढाउनु ? किन आफ्ना बच्चालाई गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट बञ्चित गराउनु ? भनेर विद्यालय र शिक्षकप्रति आसङ्का गर्दै बालबच्चा जन्मिएपछी अभिभावक नै सहर बजार केन्द्रित हुन थालेको कुरा वास्तविक र यथार्थ हो । ग्रामीण भेगका सामुदायिक विद्यालयमा शिक्षण गर्ने स्थानिय शिक्षकका बालबच्चा तथा सरकारी सेवामा रहेका कर्मचारी जनप्रतिनिधिका बालबच्चा अनिवार्य सामुदायिक बिद्यालयमा पढनउनुपर्ने र राजनीतिक दलका नेताहरुका छोराछोरी समेत स्थानीय सामुदायिक विद्यालयमा पढाउने परिपाटीको विकास गराई कडाईका साथ लागू गरि अनुगमन गर्न सकेमा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढ्छ ।

ग्रामीण भेगका विद्यालयको विद्यार्थी संख्या बढाउन स्थानीय तथा तहगत सरकारी निकाय वा संयन्त्रले राम्रो र दीर्घकालीन योजना बनाई कडाईका साथ कार्यनयन गर्न सकेमा अझै बढी प्रभावकारी हुनेछ । गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नुको अर्को कारण भनेको गाउँबाट युवा पलायन हुनु हो । ग्रामीण समुदायमा युवा पलायन हुनबाट नरोक्ने हो भने अबको केही वर्षमै विद्यालय त खालि हुन्छन् हुन्छन र निकट भविष्यमा गाउँ नै खालि हुनेछ । त्यस्तो अवस्था आउन नदिन र विद्यालयमा विद्यार्थी र गाउँमा गाउले रहनेगरि नीति निर्मान गरि लागु गराउनुपर्छ । युवा पलायन हुने परिपाटीको अन्त्य नगर्ने हो भने अबको केही वर्षमै सामुदायिक विद्यालयका खालि भवन मात्रै बाकी रहने खतरा छ । तसर्थ ग्रामीण भेगका ठुलाठुला सामुदायिक विद्यालयका भौतिक संरचनामा पर्याप्त संख्यामा विद्यार्थी कायम गराई राख्ने हो भने स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, युवा रोजगार–स्वरोजगार, भौतिक विकासलाई समान रुपमा एक अर्कालाई एक अर्कोसँग परिपुरक हुने गरि दीर्घकालीन योजना बनाई कडाईका साथ कार्यान्वयन गराउन लाग्नुपर्छ । यसरी सबै पक्षबीच समन्वय गर्न सकेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न अवस्य सकिन्छ। नियमनकारी निकायबाट अनुगमन गरि निर्देशन दिने र बेला बेलामा शैक्षिक बहस गराएर पनि स्थानीय सरकारले सामुदायिक विद्यालयप्रतिको नकारात्मकतालाई सकारात्मकतामा रुपान्तरण गर्न सक्छ।

आजको विद्यार्थी भोलिको देशको कर्णधार , नीतिनिर्माता र कार्यान्वयनकर्ता पनि हो । तसर्थ हाम्रो शिक्षाले देशभक्तिपुर्ण भावना , समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ । नेपालको सन्दर्भमा हामी सबैका निम्ति यो विषय एउटा सकारात्मक चुनौतीका रुपमा खडा भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारभन्दा भौतिक पुर्वाधारको योजनातिर बढी चासो दिने गरेको वर्तमान अवस्था छ। यस्ता विषयमा सबैको तालमेल र सहकार्य भएमा अवस्य पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन्छ भन्ने विषयमा दुई मत छैन ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - ०७:१९:०७ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology