ललितपुर । काठमाडौं विश्वविद्यालयद्वारा प्राविधिक व्यावसायिक शिक्षा र तालिम शिक्षा प्रणाली प्रयोगशालाको तेस्रो चरणको कार्ययोजना सुरु भएको छ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा नेपालको प्राविधिक व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरु पहिचान गरी कार्यान्वयनमा ल्याउँदै समस्या समाधानमा सहजता पुर्याउने उद्देश्यका साथ “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)को तेस्रो संस्करण सुरु भएको हो।
नेपालमा सन् २०२३ देखि सुरु भएको आईल्याव अन्तर्गत प्राविधिक तथा व्यवसायिक शिक्षा क्षेत्रसंग सम्बन्धित उद्योगी, शिक्षालय, स्थानीयपालिका, प्रदेश सरकारका प्रतिनिधि, संघीय सरकारका प्रतिनिधि सहितका सरोकारवालाहरुसमेतको सहभागिता रहेको छ।
६ महिनासम्म सञ्चालन हुने यो परियोजनाको शुभारम्भको अवसरमा ललितपुरको गोदावरीमा आयोजित दुई दिने कार्यशालाको दोस्रो दिन आइतबार परियोजनाका बारेमा जानकारी दिनुहुँदै कुसोडका सहायक डीन डाक्टर प्रकाश चन्द्र भट्टराईले प्रदेशगत रुपमा ६ देखि ८ जनासम्म सदस्य भएको समूहहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए।
'देशभरबाट खुल्ला आवेदन बाट छानिएका तीनै सहभागीहरु यो कार्यशालामा हुनुहुन्छ, कोशी, बागमती, लुम्बिनी, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशबाट तीनै तहका सरकारका प्रतिनिधिहरु जोडिनुभएको छ, सहभागीहरुमध्ये उत्कृष्ट ६ देखि ८ वटा समूह छनौटमा पर्दछन् । छनौटमा परेका समुहले आ–आफ्नो कार्यक्षेत्रमा ६ महिना भित्रमा कार्यान्वयनमा ल्याउन सकिने योजना आइल्यावमा प्रस्तुत गर्दछन् । आइल्याव अन्तर्गत ति योजनाहरुमा छलफल गरिन्छ र कार्यान्वयनमा लगिन्छ ।' उनले भने ।
कार्यशालामा सहभागी लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्वासे के।.सी.ले नेपालको सन्दर्भ प्राविधिक शिक्षामा स्पष्ट नीति र दीर्घकालीन योजना नभएको अवस्थामा बजारले खोजेअनुसारको दक्ष जनशक्ति तयारी गर्न यो परियोजनाले सहयोग पुर्याउने बताए।
'संघसंस्था, प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखीरण गरेर सहयोग गरेको छ, प्राविधिक शिक्षामा भएको नकारात्मक भाश्य चिर्दै समाज परिवर्तन गर्न सहयोग पुर्याउने छ, म प्रदेशसभा सदस्यसंगसंगै उद्यमी पनि हुँ, हाम्रो क्षेत्रमा खुला सीमाना छ, रुपन्देहीमा धेरै कलकारखाना छन्, विदेबाट काम गर्न आउने अदक्ष जनशक्ति छन्, यसलाई परिपूर्ति गर्न उद्योगी व्यवसायीको माग अनुसारको दक्ष जनशक्ति तयार गर्न यो परियोजनाको कार्यले सहयोग गर्नेछ, रोजगारी सृजना गर्ने र उद्यमी तयार गर्नेछ, उद्योगको आवश्यकता अनुसार दक्ष जनशक्तिको विकास गर्न सहयोग पुर्याउने छ।' उनले भने।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यो परियोजनाले पीछडिएका, सीमान्तकृत समुदायको उद्यमशील तथा क्षमता अभिबृद्धिका लागि जोड दिने विश्वास व्यक्त गरे।
'छ महिना लक्ष्यमा पुग्न सक्छौं, छ महिनापछि प्रभाव देखिने गरि काम गर्छौं, नयाँ सोच विकसित भएर आएको छ , यसलाई हामी प्रभावकारी रुपले अगाडि बढाउने प्रयास गर्नेछौं, गाउँघर, समाजको आवश्यकता अनुसारको तालिम दिएर प्रशिक्षण दिन सक्ने जनशक्ति तयार गरी गाउँसमाजमा थप प्रशिक्षण सञ्चालन गरि पीछडिएका, सीमान्तकृत समुदायको उद्यमशील तथा क्षमता अभिबृद्धिका लागि जोड दिनेछौँ।' प्रमुख कोइरालाले भने।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसालले यो परियोजना धेरै महत्त्वपूर्ण कार्यक्रम भएको बताए ।
'अहिले नेपालमा ठूलो समस्या रोजगारी हो, विदेश जाने युवालाई विमानस्थलमा रोकेर त समाधान हुँदैन, सीप सम्बन्धी तालिम मात्रै दिएर छोडेर पनि हुँदैन, सीप सहित रोजगारी दिने र उद्यमशील बनाउन यो कार्यक्रमले सहयोग गरेको छ।' उनले भने ।
नगरप्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाले धुप बनाउने तालिम दिएर बौद्ध र स्वयम्भूमा विदेशबाट आउने धुपलाई रोक्दै यहीँको श्रम, सीप र उत्पादनको उपभोग बढाउन सहयोग गरेको बताए। उनले उद्यमी हुन चाहानेहरुका लागि सीपमा साथै उद्यमशील बन्न प्रोत्साहन सहित अनुदान र ओैजारहरु पनि दिने गरेका छौँ भने ।
'नगरपालिकाले मिसन रोजगारी अभियान सुरु गरेको छ, यो कार्यक्रमले पनि सहयोग गरेको छ, हाम्रो रुचि र महत्त्वको कार्यक्रम हो, यसमा युवालाई हुने गरि छ महिनाभित्र विद्युतीय सवारी (इभी) मर्मत गर्ने दक्ष जनशक्ति तयार गर्न जोड दिने गरि चामुण्डा माविबाट तालिम दिने र पाँच वटा स्थानमा स्टेसन राख्नेछौँ, शिक्षक लाई पनि तालिम दिन्छौं, तुरुन्तै रोजगारी दिनेगरी काम गर्छौं।' उनले भने ।
कार्यशालाको दोस्रो दिन आइतबार सहभागीहरुलाई सहजीकरण गर्नुहुँदै पूर्वडिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले मानव सभ्यताको विकास सिक्ने र सिकाउने प्रक्रियाबाट क्रमिकरुपमा भएको भन्दै विद्यालयको प्रारम्भ हुँदै शिक्षाको विकास भएको बताए। उनले सुरुदेखि नै सीप र कामकासाथै ज्ञान र शास्त्रको कुरा गर्ने दुई किसिमका शिक्षाको विकास भएको जानकारी गराउनुभयो। प्राध्यापक डाक्टर पराजुलीले शिक्षा विभेदको माध्यम पनि हुनसक्ने भन्दै यसलाई ध्यान दिएर समयसापेक्ष समावेशी र पहुँचयुक्त बनाइनुपर्छ भन्नेमा जोड दिए । उनले यो छ महिने परियोजनालाई केवल एउटा प्रतिवेदन तयार गर्ने माध्यमका रुपमा मात्रै सीमित नगरी दीर्घकालीन रुपमा सकरात्मक प्रभाव पार्ने प्रणालीको रुपमा विकास गर्न समेत आग्रह गरे।
यो परियोजनामा प्राविधिक शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरू र प्राविधिक शिक्षासंग सम्बन्धि विभिन्न परियोजनामा काम गर्ने सम्बन्धित विज्ञ तथा सरोकारवालाहरु समावेश भएको कुसोडको प्राविधिक शिक्षा स्नातकोत्तर तहको सम्पर्क व्यक्ति डाक्टर प्रकाश कुमार पौडेलले जानकारी गराए।
शनिबार आईल्यावको उद्घाटन समारोहमा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले विद्यार्थीलाई देशको माया जगाउन सक्ने शिक्षा प्रणालीको विकास गनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । श्रम गर्नेहरुमा सम्मान भाव ल्याउन सकेमा मात्र मुलुक समृद्धितर्फ लाग्ने उनको भनाई थियो ।
कार्यशालामा सहभागीहरुले प्राविधिक शिक्षा न्यूनवर्गले पनि धान्न सक्ने खालको आर्थिक रुपमा पहुँचयुक्त हुनुपर्छ भन्नेमा जोड दिंदै यसलाई कार्यान्वयन गराउन राजनीतिक रुपमा प्रतिवद्धता र सामाजिक स्वीकार्यता आवश्यक रहेको औल्याए ।