Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

वैकल्पिक विधिबाट अध्यापन

वैकल्पिक विधिबाट अध्यापन

दैनिकी न्यूज

१९, जेठ २०७७
वैकल्पिक विधिबाट अध्यापन
images

काठमाडौँ  । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका विद्यालय तहका लाखौँ विद्यार्थीले आगामी असार १ गतेदेखि वैकल्पिक विधिबाट पढ्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आगामी असार १ गतेबाट पठनपाठन सुरु गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहका सम्बद्ध सबै निकायलाई आह्वान गर्नुभएको छ ।
लामो समयसम्म अवरुद्ध भएको पठनपाठनबाट पुग्न जाने शैक्षिक क्षतिलाई न्यून गर्न अपरिहार्य भएको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको पठनपाठन सहज बनाउन लागिएको हो । पठनपाठनको सहज अवस्था निर्माणका लागि मन्त्रालयबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका जारी गरिएको स्पष्ट गर्दै मन्त्री पोखरेलले यसलाई कार्यान्वयनमा ल्याउन सबैलाई आग्रह गर्नुभएको छ । विभिन्न माध्यमको प्रयोग गरी विद्यार्थीलाई घरमै सिक्ने वातावरण बनाउनुपर्नेमा शिक्षा मन्त्रीले जोड दिनुभएको छ ।
शिक्षा मन्त्रीको यो आह्वानसँगै विद्यालय तहमा वैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठन अगाडि बढाउन सार्वजनिक तथा निजी सबै विद्यालयलाई बाटो खुलेको छ । यसका साथै यसले कानुनी हिसाबले समेत मान्यता पाउने भएको हो । उच्चशिक्षाको हकमा भने विश्वविद्यालयहरूले वैकल्पिक विधिबाट हुने पठनपाठनलाई स्वीकृति दिने निर्णय यसअघि नै गरिसकेका छन् । यसका साथै माध्यमिक शिक्षा परीक्षा ९एसईई० को स्थगित परीक्षाका सम्बन्धमा कोरोना भाइरसको सङ्क्रमण समेतलाई विचार गरी निकट भविष्यमा नै उचित निर्णय लिने गृहकार्यमा मन्त्रालय जुटेको मन्त्री पोखरेलले आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
वि.सं. २०७६ देखि २०८५ सम्मको अवधिलाई सार्वजनिक विद्यालय सवलीकरण दशक घोषणा गरिएको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार निर्माण कार्यक्रम, प्रविधिको प्रयोग र शिक्षण सिकाइ सुधारसम्बन्धी कार्यक्रम लगायतका विषय शिक्षाका मुख्य मुख्य कार्यक्रम रहेको सन्दर्भ शिक्षा मन्त्रीले उल्लेख गर्नुभएको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - ०७:४९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology