नयाँ दिल्ली । चिनियाँ सेनासँग लद्दाखमा भएको भीडन्तमा आफ्ना एक कर्णेलसहित २० जनाको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।
पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार राती चिनियाँ सेनासँग भएको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको र १७ जना घाइते रहेको भारतीय सेनाले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
शून्य डिग्रीभन्दा कम तापक्रम रहेको गलवान उपत्यकामा झडप भएको स्वीकार गर्दै मृत्युबारे भारतीय सेनाले पुष्टि गरेको हो । यसअघि भारतीय सेनाले चीनसँगको झडपमा एक जना कर्नेल र दुई सैन्य जवानको मात्र मृत्यु भएको बताएको थियो।
भारतीय सेनाले मंगलबार राती मात्र २० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो। साथै उसले भारत र चीनका सेनाबीच झडप बन्द भएको जनाउ पनि दिएको छ।
भारतको सरकारी समाचार संस्था पीटीआईले भारत र चीनका सेनाबीच केही घण्टासम्म भीषण झडप भएको जनाएको छ। झडपमा कयौँ भारतीय सेना घाइते र बेपत्ता छन्। एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार यो संख्या अझै बढ्न सक्नेछ।
पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राती दुवै पक्षका सैनिकबीच हिंसात्मक झडप भएको भारतीय र चिनियाँ सेनाले छुट्टाछुट्टै रुपमा पुष्टि गरेका थिए। छन्। झडपमा चिनियाँ सेनातर्फ पनि हताहती भएको भारतीय सेनाले दाबी गरेपनि चिनियाँ पक्षले यसको पुष्टि गरेको छैन।
लद्दाखको सीमा क्षेत्रमा एक महिनादेखि भारत र चीनका सैनिक आमनेसामने भएपछि तनाव बढेको थियो। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।
पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका थिए।
भारतीय विदेश मन्त्रालयले जुन ६ मा भएको सहमति चीनले तोडेको आरोप लगाएको छ भने चिनियाँ विदेश मन्त्रालयले आफ्नो सीमामा भारतीय सेना आउँदा झडप भएको प्रतिक्रिया दिएको छ।
विवाद समाधानका लागि हाल दुवै देशका सैन्य तथा सरकारी वरिष्ठ अधिकारीबीच वार्ता भइरहेको पनि जनाइएको छ।
सन् १९७५ पछि पहिलो पटक चीन सँगको सीमा नियन्त्रण रेखामा भएको झडपमा भारतीय सेनाको ज्यान गएको हो। यसअघि सन् १९७५ मा दुई देशका सेनाबीच अरुणाञ्चलको तुलुङलामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसअघि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो। तस्बिर: रोयटर्स