काठमाडौँ। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को आह्वानमा आज निजी विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीले देशव्यापी प्रदर्शन गरेका छन् । स्कुलका संस्थापकहरूले तलब नदिने र मौखिक बर्खास्ती गर्ने काम तीव्र बनाएको आरोप लगाउँदै इस्टु देशव्यापी प्रदर्शनमा उत्रिएको हो । आज काठमाडौँको माइतीघर मण्डलामा सयौँको सङ्ख्यामा शिक्षक कर्मचारी उपस्थिति भई विरोध जनाएका छन् ।
उक्त शान्तिपूर्ण ¥याली वानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । राष्ट्रिय उपाध्यक्ष देवीदत्त पौडेलको अध्यक्षतामा भएको कोणसभामा नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा, नेपाल शिक्षक महासंघका सचिव झम्क चौलागाईं, संस्थागत विद्यालय अभिभावक संघका केन्द्रीय अध्यक्ष सुवास भण्डारी, इस्टुका अध्यक्ष होमकुमार थापा लगायतका सबै वक्ताले मौखिक बर्खास्ती तुरुन्त रोक्न र शिक्षक कर्मचारीलाई तलब उपलब्ध गराउन आग्रह गरे ।
त्यसैगरी पूर्वमा झापा जिल्लाले पाँच सयभन्दा बढी शिक्षक कर्मचारीको बृहत् ¥यालीसहित कोणसभा गरेको समाचार छ । मोरङमा विशाल विरोध प्रदर्शन भएको हाम्रा संवाददाताले जनाएका छन् । विरोध प्रदर्शन सुनसरी, उदयपुर, इलाम, धनकुटामा पनि भएको इस्टुले जानकारी गराएको छ । प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, पर्सा, रौतहटमा पनि निजी विद्यालयका शिक्षक कर्मचारीहरू सडकमा उत्रिएका छन् ।
बागमती प्रदेशअन्तर्गत मकवानपुर, चितवन, धादिङ, कार्भे, सिन्धुपाल्चोकमा पनि प्रदर्शन भएको समाचार छ । कास्कीको पोखरा, रुपन्देही, बाँके, कैलाली, दाङ, नवलपरासी, धनगढी जिल्लामा पनि इस्टुले शान्तिपूर्ण ¥याली निकालेको इस्टुका केन्द्रीय उपाध्यक्ष उमेश सापकोटाले जानकारी दिएका छन् ।
“लगभग ५० प्रतिशत विद्यालयले तलब दिएका छैनन् । लिटिल एन्जल्स, जेम्स, वृहस्पति, ज्ञनोदय जस्ता विद्यालयले लकडाउनको मौका छोपी शिक्षक कर्मचारी बर्खास्त गरेका छन् । त्यसैले यसका विरुद्धमा इस्टु सडकमा आउको हो” अध्यक्ष होमकुमार थापाले भने । अध्यक्ष थापाले भने “पहिलो चरणको कार्यक्रम समापन भएको छ । यसको समीक्षा गरी दोस्रो चरणको आन्दोलन थप सशक्त बनाउने छौँ ।”






