Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

दैनिकी न्यूज

१४, भाद्र २०७७
प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने
images

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुभयो ।

सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले पहिलोपटक २०७१ चैत २ गते त्यस्तो निर्णय गरेको थियो । प्रयोगविहीन सिमकार्ड निष्क्रिय गर्नुपर्ने अवधि अहिले पनि छ महिना नै कायम छ तर त्यसरी निष्क्रिय गरेको छ महिनासम्म बिक्री गर्न नपाउने गरी प्राधिकरणले पछिल्लो निर्णय गरेको हो ।

छोटो समयमै सिमकार्ड पुनः बिक्रीको सुविधाले त्यही नम्बर प्रयोग गरिएको बैङ्क खाता, सामाजिक सञ्जाललगायतको डेटा असुरक्षित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस्तो निर्णय भएको अर्यालले बताउनुभयो । नम्बर दुरुपयोग हुनसक्ने सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घले पनि प्राधिकरणलाई यस्तो अवधि दुई वर्ष पु¥याउन प्राधिकरणलाई अनुरोध गरेको थियो, उहाँले भन्नुभयो, “तर सिमकार्ड सीमित स्रोत भएकाले एक वर्षसम्म बिक्री गर्न नपाउने निर्देशन जारी गरेका हौँ । ”

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार जेठसम्म तीनवटा सेवा प्रदायकले तीन करोड ७० लाख सिमकार्ड बिक्री गरिसकेका छन् । यद्यपि गत वर्ष मङ्सिरसम्म बिक्री भएको सिमकार्डको सङ्ख्या चार करोड २० लाख थियो ।

सेवा प्रदायकले यसबीचमा सिमकार्ड रिसाकइल गर्दै त्यसलाई पुनः बिक्रीमा ल्याएका थिए । यसरी बिक्री गर्दा पहिलेको प्रयोगकर्ताको संवेदनशील डेटा असुरक्षा हुने गुनासो बढेपछि प्राधिकरणले बिक्रीको समय थप गरेको जनाएको छ ।

सेवा प्रदायकलाई प्राप्त मोबाइल कोडबाट सिर्जना हुनसक्ने नयाँ सिमकार्ड नम्बरको सीमितता बढेपछि सेवा प्रदायकबीच पछिल्लो समय सिमकार्ड रिसाइकल गर्ने प्रवृत्ति बढेको थियो । एकैपटक सिमकार्ड रिसाइकल गर्दा सेवा प्रदायकले यसअघि देखाउँदै आएको आफ्नो ग्राहक आधार व्यापक घटेको थियो । यसले गर्दा मङ्सिरयता नै करिब ५० लाख मोबाइल प्रयोगकर्ता घटेको देखिएको छ ।

गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - ०७:३२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology