आमाले आफू बाचुन्जेल हामीलाई खुसी, हर्ष र उज्यालो दिनु भयो । आमा बित्नु भए पछि पनि आमा जिवित हुँदा बाल्नु भएको दियालोले नै उज्यालो दिइरहेको छ । उहाँ रहुन्जेल हामी कहिल्यै रुनु परेन, दुःखी हुनु परेन । आमा जिवित छदासम्म संसार जितिन्छ जस्तो लाग्थ्यो । आमाले दिनुभएको शिक्षा र प्रेरणाले अझै पनि त्यो हिम्मत बाँकी छ जस्तो लाग्छ तर आमा हुँदाको जस्तो भने पक्कै छैन । आमाले हामीलाई झुक्याएर छाडेर जानू भएको पनि १० बर्ष भयो । अहिले पनि हरेक खुसी र कठिन समयमा आमाको चित्र मानसपटलमा नआएको समय हुन्न । आमालाई सम्झने बित्तिकै हरेक समस्याहरू फुत्तै भाग्छन जस्तो लाग्छ । अप्ठ्यारो समयमा ‘कान्छा’ भन्दै टुप्लुक्क आउनु हुन्छ कि जस्तो लाग्छ ।
आमाले आफ्नो व्यक्तिगत सुख कहिल्यै हेर्नुभएन । हामी हास्नु, हामी खुसिहुन नै आमाको सुख थियो, हर्ष थियो । धन, सम्पत्ति, सुखसयल, आफन्त, इष्टमित्र आमाको लागि हामी नै थियौं । म प्रवेशिका परीक्षा उत्तीर्ण हुँदा तीन दिनसम्म खुसिले भोकै बस्नुभएको सम्झना ताजै छ । आफू अफ्ठ्यारो समयमा गुज्रिएको वेला पनि हाम्रो लागि हामीसँगै खुसी हुने आमाको दिनचर्या थियो । शब्दकोषमा लाखौ शब्दहरू होलान । ती शब्दरू मध्ये आमा भन्ने शब्द हटाउने हो भने शब्दकोषको केहि अर्थ हुन्छ जस्तो लाग्दैन । हाम्री आमा हामीलाई माया मात्रै गर्न जन्मनु भएको थियो कि जस्तो लाग्छ । उहाँले आफूलाई कहिल्यै माया गर्नुभएन । आमा ज्ञानको खानि हुनुहुन्थ्यो । उहाँमा राजनीतिक चेत थियो ।
आमाले हामीलाई धेरै ज्ञानका कुरा सिकाउनु भएको छ । हजारौं मध्ये केही मात्रै आफ्नो जीवनमा लागू गर्न सके आफू सार्थक हुन्छु कि जस्तो लाग्छ । सहनशीलता, धैर्यता, विश्वास, समानता र निरन्तर सङ्घर्ष गर्न सक्ने आमाको क्षमता थियो । दुःखलाई पैतालाले छोप्न सक्ने विशेष गुण थियो । रुनै परेपनि हाम्रा अगाडि रुनुहुन्न थियो । उमेरमै बाबा बित्नु भएको पिडा त उहाँ बाहेक कसले महशुस गर्न सक्लार ? हामीलाई हुर्काउन र पढाउन कति मिहिनेत प¥यो होला । यसको त म कल्पना पनि गर्न सक्दिन ।
अभिभावक मध्य सबैभन्दा निस्वार्थी अभिभावक आमा हो । आमा बित्नु भएको पिडामा घरमा सन्नाटा थियो । जम्मा चौध दिन मात्रै भएको थियो । म आमासँगै बस्थे । आमा आमा बित्नु भए पछि आमाको कन्तुरलगायत गहकिला सामान लान कोहीकोहिले हारालुछ गरे । लुछाचुडी गरे । आमाको फोटोसम्म पनि लगे । सबै लगे । म हेरिरहे मात्रै । अन्यासमै आँखा कोठाको पर्खालमा पुगेछन । त्यहाँ एउटा चरिलौरो थियो जसले आमालाई हिड्न सहारा दिन्थ्यो । उसले भन्यो कान्छा किन चिन्ता लिन्छस् ? मत यहीँ छुनि । अहिले चरिलौरो अभिभावक भएको छ । मेरो आमा भएको छ । हरेक दुःख पर्दा चरीलौरो अगाडि उभिने गर्छु । हरेक खुसियालीमा पनि चरीलौरो अगाडि उभिने गर्छु । केही निर्णय गर्नुपर्दा चरिलौरो अगाडि उभिने गर्छु । साच्चै भन्नू पर्दा चरीलौरोलाई मैले मेरो आमाको प्रतिमुर्तिको रुपमा लिएको छु । खुसी के लाग्छ भनेनी उनीहरूले सबै लगे चरीलौरो देखेनन् । धन्य चरि लौरो । संसारका सबै आमाप्रति नमन ।