Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मोबाइलको नेटवर्क छ सेट छैन, सर्‍यो फाइभजी परिक्षण

मोबाइलको नेटवर्क छ सेट छैन, सर्‍यो फाइभजी परिक्षण

दैनिकी न्यूज

२३, पौष २०७९
मोबाइलको नेटवर्क छ सेट छैन, सर्‍यो फाइभजी परिक्षण
images

काठमाडौं । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ । “आन्तरिक रूपमा गर्नुपर्ने सबै परीक्षण भइसकेको छ,” उनले भने, “तर, जब मोबाइलमा यसको परीक्षण सुरु गरियो, मोबाइल सेट नै धेरै कम भएको पाइयो ।”

टेलिकम अहिले भने बजारमा २६ सय मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने मोबाइलको उपलब्धताको सर्वेक्षणमा जुटेको छ । त्यसका आधारमा अबको केही हप्तामै यसको सार्वजनिक परीक्षण सुरु गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एक वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने सर्तसहित टेलिकमलाई २६ सय मेगाहर्जमा आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो तर धेरैजसो मोबाइलले २६ सय मेगाहर्ज सपार्ट नगर्ने पाइएको टेलिकमले जनाएको छ ।

उपलब्ध फ्रिक्वेन्सीमै फाइभजी परीक्षण गर्नुपर्ने भएकाले पनि परीक्षणको समय पछि सरेको प्रवक्ता अधिकारीले स्पष्ट पारे । टेलिकमलाई हाल उपलब्ध गराइएकै फ्रिक्वेन्सी भविष्यमा फाइभजी सञ्चालन अनुमति हुने या नहुने निश्चित नभएकाले पनि कम्पनीले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सक्ने अवस्था नरहेको उनले बताए । “भविष्यमा यही ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध हुने निश्चित नभएकाले फोरजीजस्तै प्रविधि तटस्थ गरेर सञ्चालन गर्ने अवस्था पनि छैन,” उनले भने ।

विश्वभर बढ्दो प्रयोगमा रहेको दूरसञ्चारको पछिल्लो प्रविधि फाइभजी परीक्षणको नेपालमा पनि व्यग्र प्रतीक्षा थियो । परीक्षणका लागि आवश्यक मोबाइल सेटहरू बजारमा देखिन थालेपछि मात्र सर्वसाधारणका लागि उपलब्ध गराउने टेलिकमको तयारीले यसका लागि अझै प्रतीक्षा गर्नुपर्ने भएको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :पौष २३, २०७९ शनिवार - ०७:५६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology