Logo

आइतवार, श्रावण २४ गते २०८३

images

२८ औँ संस्करणको क्यान इन्फोटेक माघ २४ गतेदेखि

२८ औँ संस्करणको क्यान इन्फोटेक माघ २४ गतेदेखि

दैनिकी न्यूज

१२, माघ २०७९
२८ औँ संस्करणको क्यान इन्फोटेक माघ २४ गतेदेखि
images

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले २८ औँ संस्करणको क्यान इन्फोटेक माघ २४ गतेदेखि भृकुटीमण्डपको प्रदर्शनी हल गर्ने भएको छ । महासंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यान इन्फोटेक–२०२३ माघ २४ गतेबाट २९ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।

महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघका महासचिव चिरञ्जीवी अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने बताए ।

उनले टिकटका लागि सर्वसाधारणका लागि १ सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको समेत बताए । उनले भने, ‘प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सहभागिता रहनेछ ।' उनले यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गर्ने बताए । उनले क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने बताए ।

महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ ।

महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुग्ने विश्वास राखेको छ । काठमाडौंमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीले बताए ।

महासचिव अधिकारीका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३०, बागमती प्रदेशमा चैत्र २ देखि चैत्र ६ र प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुनेछ । महासंघले सन् १९९५ देखि क्यान इन्फोटेकको सुरुवात गरेको थियो ।

images
प्रकाशित मिति :माघ १२, २०७९ बिहिवार - २१:३२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology